अमेरिकामा अवैध आप्रवासीलाई पक्राउ अभियान शुरु ?

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ गर्न सुरू गरेको छ। अमेरिकी न्याय विभागले कानुन कार्यान्वयन गराउने विभिन्न एजेन्सीहरू परिचालन गरी अवैध रूपमा वसोबास गरिरहेका आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान चलाएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी फिर्ताको विषयलाई गम्भीरतापूर्वक लिएको र कार्यकाल सुरू भएदेखि नै अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरू हुने बताएका थिए। आइतबार त्यो अभियान सिकागोबाट सुरू भएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सिकागोमा विभिन्न शंकास्पद स्थानहरूमा छापा मारेर प्रहरीले अवैध रूपमा बसोबास गर्दै आइरहेका आप्रवासीहरूलाई पक्राउ गरेको छ। अमेरिकाको अध्यागमन विभागले विज्ञप्ति जारी गरेर अवैध आप्रवासी पक्राउ अभियान चलाएको जानकारी गराएको सिएनएनको समाचारमा उल्लेख छ। उक्त अभियान देशैभरि सुरू हुने भनिएको छ। केही मिडियाहरूले झन्डै एक हजार अवैध आप्रवासी आइतबार पक्राउ परेको भनेका छन् तर त्यसको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन। अपरेशनमा स्थानीय अधिकारीहरू भने संलग्न नरहेको न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले अवैध आप्रवासीहरूलाई अपराधी भनेका थिए। त्यस्ता मानिसहरूलाई उनीहरू जहाँबाट आएका हुन् त्यहीँ पठाइने उनले बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top