एमाले पार्टीका नेता–कार्यकर्तालाई भण्डारीको पक्षमा नखुल्न केपी ओलीको चेतावनी

पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक निर्णय नगर्दै एमाले भित्र हलचल पैदा भएको छ। भण्डारी हालै चीन भ्रमणबाट फर्केर आएपछि एमालेमा हलचल उत्पन्न भएको हो। राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन्। एमाले नेताकै हैसियतमा उनी चीन भ्रमणमा गएकी हुन्। एमालेभित्रको एउटा पंक्ति भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनुपर्ने पक्षमा छ। चीन भ्रमणबाट फर्केकी भण्डारी अहिले पूर्वी नेपालका झापा, मोरङलगायतका जिल्ला भ्रमणमा छिन्। भण्डारी पूर्वी नेपालको भ्रमणमा रहेकै बेला यता काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीव्र असन्तुष्टि पोखेका छन्। भण्डारीले जिल्लामा एमालेका नेता–कार्यकर्तासँग गरिरहेको भेटघाटप्रति अध्यक्ष ओली असन्तुष्ट देखिएका हुन्। ओलीले आइतबार पार्टीका नेता–कार्यकर्तालाई भण्डारीको पक्षमा नखुल्न चेतावनीपूर्ण भाषा प्रयोग गरे। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी महाधिवेशनबारे धारणा राख्दै विद्याको पक्षमा नखुल्न नेता–कार्यकर्तालाई अघोषित चेतावनी दिए। ओलीले पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुंगा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए। ‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ ओलीले भण्डारीको राजनीतिक भेटघाटलाई लक्षित गर्दै भने, ‘पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’ उनले महाधिवेशन मिति घोषणा भइनसक्दै सरसल्लाह नै नगरी बाहिर हल्ला चलाएको भन्दै आक्रोश पोखे। उनले भने, ‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन।’ यस्ता बाहिरी हल्ला चलाएर पार्टी कमजोर पार्न खोजे सह्य नहुने उनको चेतावनी थियो। ‘अनि यो बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने, यस्ता दुष्प्रयासलाई तपाईंहरू सोझै जवाफ दिनुस्,’ ओलीले भने। पार्टीभित्र समूहका नाममा भइरहेको हल्लाको जवाफ दिन पनि उनले कार्यकर्तालाई आग्रह गरे। ‘तलतल यो ग्रुप भन्या छन्, त्यो ग्रुप भन्या छन्। यो ग्रुप र त्यो ग्रुपको आवश्यकता नै छैन,’ उनले भने, ‘तपाईंहरूले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुहोला।’ भण्डारी शनिबार झापा पुग्दा त्यहाँ एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं, पार्टी उपाध्यक्ष शिव ढुंगेलललगायतले भण्डारीलाई स्वागत गरेका थिए। उनीहरूले आफूले भण्डारीलाई पार्टी अध्यक्षको रूपमा हेर्न चाहेको भन्दै पार्टी राजनीतिमा फर्कन आग्रह गरेका थिए। विराटनगरबाट झापा जाने क्रममा भण्डारीसँग एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राई, सचिव राजकुमार भण्डारी र सहसचिव देवान राई थिए। कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा पुगेकी थिइन्। भण्डारीले झापामा नेता–कार्यकर्तासँग पनि भेटघाट गरिन्। भेटवार्तामा युवा संघको केन्द्रीय सदस्यमा ओली समूहबाट पराजित रोजिना पाण्डे, पूर्वसांसद पवित्रा खरेल, नेत्री निता घतानी, बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईं, कमल गाउँपालिकाकी पूर्वअध्यक्ष मेनुका काफ्लेलगायत सहभागी थिए। भण्डारी आइतबार पनि झापामा विभिन्न कार्यक्रममा सरिक भइन्। ओली आफ्नो गृहजिल्ला पुगेर भण्डारीले राजनीतिक भेटघाट गरेपछि आक्रोशित बनेको बुझिएको छ। ओलीले सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा पूरा गर्ने अभियानमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले गणतन्त्रलाई सुदृढ र गतिशील बनाउन अनेरास्ववियुलाई आग्रह गर्दै विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलाप गर्न भने छुट नभएको बताए। उनले विद्यार्थी नेताहरूलाई संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवार बनाउन निर्देश दिए। ‘बाटोमा हिँड्दा तपाईंहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरूले चिनुस्। म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हुनु हुँदैन,’ ओलीले भने, ‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन्। पार्टीभित्र एकता हुनु हुँदैन, चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन्। मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा लक्ष्यमा प्रभावकारीरूपमा अघि बढ्न सक्छौं। मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ। पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन।’ अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रमा ओलीले सरकार सही नीतिमा अघि बढेको र सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल नहुने पनि बताए। उनले मुलुकमा स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट पारे। सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पनि उनले दोहोर्‍याए। ‘हाम्रा विरोधीले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्। हामीले हाम्रो मिसन २०८४ अन्तर्गत निर्वाचनमा बहुमत ल्याउँछौं भनेको छौं। प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ,’ ओलीले भने, ‘हामी अहिले सँगै सरकारमा रहेर भोलि प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौं। त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ। यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top