भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने साझा रणनीति बनाउन विपक्षी दलहरूको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालको आह्वानमा संसद् भवन नयाँ बानेश्वरस्थित उनको कार्यकक्षमा बैठक जारी छ। पछिल्ला केही दिनदेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। यही गतिरोधका बीच आज बस्ने प्रतिनिधिसभाको बैठकअघि विपक्षीहरू साझा धारणा बनाउन छलफलमा जुटेका हुन्। बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न प्रतिपक्षी दलका नेताहरूको उपस्थिति रहेको छ। छलफलमा सदनको अवरोधलाई कसरी अगाडि बढाउने, सरकारसँग वार्ताको सम्भावना र आफ्नो माग पूरा गराउन अपनाउन सकिने थप रणनीतिका विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।
