‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति नेपाल पत्रकार मञ्चले कडा आपत्ति

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति नेपाल पत्रकार मञ्चले कडा असन्तुष्टि जनाएको हो । पत्रकार महासंघका निर्वाचित परिषद् सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा वक्ताहरूले उक्त विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विधेयकले प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने खतरा रहेको बताउँदै, यसलाई फिर्ता लिन सरकारलाई आग्रह गरे। साथै, पत्रकार महासंघ नागरिक समाज, मानव अधिकारकर्मी र सरोकारवालासँग छलफल नगरी विधेयक पारित भए त्यसविरुद्ध चुप नबस्ने चेतावनी दिए । कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सरकारको नियमन आवश्यक भए पनि नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कानुन स्वीकार्य नहुने बताए । अन्य वक्ताहरूले पनि विधेयक तत्काल परिमार्जन गर्न जोड दिए ।
समारोहमा महासंघको राष्ट्रिय र प्रदेश परिषदमा निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top