काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् । बुधबार काठमाडौँ प्लाजामा उपमेयर सुनिता डङ्गोलसहित तीन जना वडाअध्यक्षहरुसँग छलफल गरेको खुलेको छ । उक्त बैठकपछि मेयर साह महानगरपालिकाको कार्यपालिका बैठक र नगर सभा बोलाउने सहमतिमा पुगेका छन् । उपमेयर डङ्गोलसहित तीन वडा अध्यक्षसँगको छलफलपछि मेयर साह कार्यपालिका बैठक र नगर सभा बोलाउन तयार भएका छन्। छलफलमा वडा– १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र वडा– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सहभागी थिए। वडा– १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले मेयर साहसँग कार्यपालिका बैठक र महानगरका नियमित कामको विषयमा छलफल भएको बताए । उनले मेयर साहसँगको भेट नियमित भएको उल्लेख गर्दै मेयर साहले चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्न सहमत भएको जनाकारी दिए । उनले उपमेयर सहितको बैठकमा चाँडै बैठक बोलाउने आशा रहेको बताए । उनले भने, ‘उपमेयर सहितको छलफल भएको छ । मेयर साहसँगको भेटघाट नियमित हो । तर चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्ने आशा छ ।’ काठमाडौँ महानगर कार्यपालिकाको बैठक गत पुस १४ गतेयता बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा मेयर एक पक्ष र उपमेयर डङ्गोल तथा वडा अध्यक्ष एकै ठाउँमा आउँदा थप समस्या बढ्दै गएको थियो । विवाद सिर्जना भएसँगै मेयरको उपमेयरसँग करिब अढाई महिनासम्म बोलचाल समेत भएको थिएन ।
