अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू चढेको विमान काठमाडौं आइपुगेको छ। डिपोर्ट भएकाहरूलाई अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए। उनका अनुसार ३७ जना नेपालीहरू डिपोर्ट भएर आएका छन्। उनीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको थियो। डिपोर्ट गरिएकाहरूलाई अध्यागमनले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ। ब्युरोले उनीहरू कसरी अमेरिका पुगे, दलालबाट ठगिएका पीडितहरू पनि हुनसक्नेबारे सोधपुछ र परामर्श गर्छ। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले त्यसरी फर्केकाहरूलाई ब्युरोले सामान्य सोधपुछ गर्ने बताए। ठगिएर अमेरिका पुगेका हुन् भने त्यस्ता व्यक्तिहरूले दलालहरूविरूद्ध पीडितले उजुरी दिएपछि ब्युरोले अनुसन्धान अगाडि बढाउँछ।
