काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको भन्दै उक्त सञ्चारगृहले विरोध जनाउँदै विज्ञप्ति सार्वजनिक गरेको छ । पत्रकार दिलभुषण पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी जारी गरेको विषयमा नागरिक र रिपब्लिका अंग्रेजी दैनिकले समाचार र सम्पादकीय प्रकाशित गरेको विषयमा परराष्ट्रमन्त्रीले धम्की दिएको नागरिकको भनाइ छ । परराष्ट्रमन्त्री देउवाका छोरा जयवीर देउवाले दिएको उजुरीका आधारमा साइबर ब्युरोले पक्राउ पुर्जी जारी गरेको हो । सोही समाचारका विषयलाई लिएर परराष्ट्रमन्त्री राणाले निर्देशक ज्ञवालीलाई बिहीबार दिउँसो १ बजेर ५३ मिनेटमा निजी सहायक कमल रावलको ह्वाट्सएपमार्फत फोन गर्दै मिडिया र यसका सञ्चालकलाई धरासायी गराइदिने धम्की दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मिडियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्रमन्त्री राणाले करिब चार मिनेट लामो टेलिफोनका क्रममा धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएको छ ।’ परराष्ट्रमन्त्रीले दिएको धम्कीले नेपाल सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको विश्वासमा धक्का पुर्याएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध राज्य केन्द्रमा हुने दम्भको अन्त्य होस् भन्ने माग गर्छौं ।’ कान्तिपुरसँग कुरा गर्दै निर्देशक ज्ञवालीले प्रकाशित समाचारमा असहमति भए छलफल गर्ने वा कानुनी उपचार खोज्ने विधिसम्मत बाटो हुँदाहुँदै पनि धम्कीपूर्ण अभिव्यक्ति दिनु स्वीकार्य नभएको बताइन् । उनले भनिन, ‘यस्तो धम्कीयुक्त भाषा मैले परराष्ट्रमन्त्रीबाट अपेक्षा गरेको थिइनँ ।’ यसैबीच, पराराष्ट्रमन्त्री राणाले निर्देशक ज्ञवालीसँग बिहीबार भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी नागरिक दैनिकमा समाचार प्रकाशित भएकामा आश्चर्यचकित भएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएको बताएकी छन् । ‘हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।’
