काठमाडौँ । भिजिट भिसा प्रकरणमा जेठ १३ गते देखि प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले गर्दै आएको अवरोध हटाउन मुख्य तीन दलिबच छलफल हुँदैछ । आज तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अगाडि सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बिच छलफल हुन लागेको हो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् । प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेका छन् । सत्तापक्ष भने संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ । गृहमन्त्री अख्तियारको छानबिनको घेरामा नरहेकाले उनले राजीनामा दिन नपर्ने पनि सत्तारुढ दलहरूको भनाइ छ ।
