राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टलाई गभर्नर बनाउन सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच अनौपचारिक सहमति भए पछि भट्टले पदबाट शुक्रबार राजीनामा दिएका हुन् । नागरिकको जिज्ञासामा भट्टले राजीनामा दिएको बताए। गभर्नर महाप्रसाद अधिकारी कार्यकाल पूरा गरेर बिदा भएपछि सत्ता साझेदार प्रमुख दुई दलबिच सहमति नहुँदा गभर्नर नियुक्तमा ढिलाई भएको थियो । नेपाली कांग्रेसले दबाब बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपाल राष्ट्र बैङ्कको ऐनअनुसार योग्यता पुगेका व्यक्तिलाई गभर्नर बनाउन सहमत भएका छन् । भट्ट कुनै विवादमा नपरेका भट्ट स्वच्छ छवियुक्त नेपाल राष्ट्र बैंककै क्याडर हुन् । प्रक्रिया पूरा गरेर भट्टलाई गभर्नर बनाउने सरकारको तयारी छ । गभर्नर बन्न नेपाली कांग्रेस निकट मानिने नेपाल राष्ट्र बैंकका सञ्चालक डा. रवीन्द्र पाण्डे, कार्यकारी निर्देशक डा. भट्ट, नविल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना लबिइङमा थिए। एमालेनिकट मानिने राष्ट्र बैंक डेपुटी गभर्नर डा. निलम ढुंगाना, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रकाश कुमार श्रेष्ठ, राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि गभर्नर बन्ने दौडमा थिए । बिचौलियाको समूहले पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई अघि बढाएको थियो । यी सबैलाई पछि पार्दै भट्ट गर्भनर हुने भएका छन् । नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा यसअघि नै समिति गठन भइसकेको छ। छनोट समितिमा अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् । राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकका एक डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्ने र सरकारले तीमध्येबाट एक जनालाई नियुक्ति गर्ने नीतिगत व्यवस्था छ । दुई दलबिच सहमति भएकाले अब प्रक्रिया अघि बढाएर गभर्नर नियुक्ति गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top