नागरिकतासम्बन्धी विधेयकलाई छिटो पारित गरौँः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकतासम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन्।  मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ। छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकतासम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताए। तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताए।  संवेदनशीलताको नाममा सदैव जटिलतामा नागरिकलाई पारिरहने काम गर्न नहुने उनले बताए। उनले भने, ‘यो ऐनबाट सरकारले जे कुरा एड्रेस गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिऊँ। ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरूरी छ। त्यो भएन भने भावना हामी राख्दै गर्ने, तत्काल निर्णय गर्नसक्ने कुराहरू पनि ल्याएर जोडेर एकैचोटि सबै गर्छौं भन्दा केही पनि नहुने हुन्छ। हामी उदार पनि बनौँ, संवेदनशीलतालाई असर पर्नेगरी पनि नजाऔँ। संवेदनशीलताको नाममा सदैव जटिलतामा हामी घुमिरहने, नागरिकले सधैँ दुःख पाइरहने काम गर्नु हुँदैन। कहीँ न कहीँ ब्रेक थ्रु गर्नुपर्छ।’ उपसभापति खड्काले एनआरएनएका लागि पनि नागरिकता सम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरे।

Read More

गोक्यो ताल क्षेत्रबाट चिनियाँ नागरिकको उद्धार

सोलुखुम्बुस्थित गोक्यो ताल क्षेत्रबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ। नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो ताल क्षेत्रमा रहेको एक होटलबाट चिनियाँ नागरिकको उद्धार गरी काठमाडौं ल्याएको डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए। आत्महत्या गर्न लागेको भन्ने सूचना पाएपछि पर्यटक प्रहरी अल्डिच्युट हेलिकप्टरमा मंगलबार बिहान साढे ५ बजेतिर काठमाडौंबाट उडेको थियो। चिनियाँ नागरिक छेई हुवाङ त्यहाँको ‘थांका इन’ मा बस्दै आएका थिए। बुधबार उनको जन्मदिन समेत हो। उनले चिनियाँ सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गरेका थिए। जसमा उनले तालमा डुबेर मर्न चाहेको भन्दै उल्लेख गरेका थिए। उक्त पोष्ट हालेको थाहा पाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई सम्पर्क गरेको थियो।  पर्यटक प्रहरीलाई सोमबार अपराह्न ५ बजेतिर खबर गरेको थियो। उक्त खबरपछि नेपाल प्रहरीका दुई जना अधिकारी मंगलबार बिहानै गोक्यो ताल क्षेत्रका लागि गएका थिए। ‘उहाँ कुन होटलमा बसेको भन्ने थाहा पाएका थियौं। त्यहाँको होटलका सञ्चालकलाई पनि सम्झाएर राखिराख्नु हिँड्न नदिनु भनेर खबर गर्‍यौं,’ एक प्रहरीले भने। होटलमा सञ्चालकले सम्झाएर राखेपछि प्रहरीको टोली पुगेको थियो। उक्त टोली पुगेर मंगलबार बिहान सम्झाएको थियो। करिब आधा घण्टा सम्झाइसकेपछि भने प्रहरीसँग आउन मानेको थियो।  हेलिकप्टरमा १०: ५३ बजेको समयमा हेलिकप्टर काठमाडौं आइपुगेको हो। अहिले चिनियाँ नागरिकलाई पर्यटक प्रहरी कार्यालयमै राखिएको छ। ‘उहाँलाई रेस्क्यु गरेर ल्याएका छौं। चिनियाँ प्रतिनिधि आउँदै हुनुहुन्छ। केही बेरमा हामी बुझाउँछौं,’ डिएसपी सिंहले भने।

Read More

‘कमेडी दरबार’ मा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई!

दर्शकमाझ लोकप्रिय कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा फिल्म निर्देशक प्रदीप भट्टराईको प्रवेश भएको छ। यसअघि ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिका निर्वाह गरेका प्रदीप ‘कमेडी दरबार’ मा महाराजाको भूमिकामा देखिने भएका हुन्।  मंगलबार शोको छायांकन भइरहेको स्थानबाट प्राप्त तस्बिरमा प्रदीप भट्टराई महाराजाको कुर्सीमा देखिएका छन्। निर्माणपक्षले यसबारे आधिकारिक जानकारी भने दिएको छैन।  कमेडी दरबार स्रोतका अनुसार उनी शोमा नियमित देखिन लागेका भने होइनन्। ‘महाराजा’ को भूमिकामा देखिँदै आएका मनोज गजुरेल युरोप टुरमा निस्किनुपर्ने भएकाले एक महिनाका लागि उनको स्थानमा प्रदीपलाई ल्याइएको कमेडी दरबार स्रोतले जनाएको छ।  शोमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै आएकी छन्। ‘कमेडी दरबार’ लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूको प्रस्तुति रहँदै आएको छ।  अहिले दोस्रो सिजन चलिरहेको शोका अधिकांश एपिसोडले युट्युबमा मिलियन भ्युज पाएका छन्।

Read More

निर्वाचनको माग गर्दै अनेरास्ववियुमा नाराबाजी

नेकपा (एमाले)निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्यार्थीहरूले निर्वाचन प्रकृया अघि बढाइरहेको अवस्थामा एक्कासी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि विद्यार्थीहरू आक्रोसित बनेका छन्। विद्यार्थीहरू आक्रोसित बनेपछि बन्द सत्र सुरु भए पनि निर्वाचन प्रकृया अघि बढेको छैन। निर्वाचन प्रकृयामा अघि बढ्न पाँच जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै पार्टीले कडरिया अध्यक्ष, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिवमा दिपक धामी लगायतको नाम पार्टीको लाइनमा अध्यक्ष मण्डलले घोषणा गरेपछि निर्वाचनको महोल खलबलिएर नाराबाजी सुरु भएको अनेरास्ववियु कीर्तिपुरका इन्चार्ज प्रशान्त भण्डारीले बताए। ‘अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा अरू आकांक्षीले असहमति जनाउँदै हलभित्र ‘वी वान्ट इलेक्सन’ भन्दै नाराबाजी गरिररहेका छन्,’ इन्चार्ज भण्डारीले भने, ‘निर्वाचन प्रकृयामा जाने अध्यक्षको आकांक्षीहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अन्जना शिवाकोटी र कडडियाले आकांक्षा रखेका छन्।’

Read More

ट्रम्प र मस्कबिचको तनाव घट्दै, सम्बन्ध सुधारको संकेत

टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ता सार्वजनिक रूपमा विवाद भएको थियो। तर मस्कले सोमबार सामाजिक सञ्जालमा ट्रम्पको भिडियोमा प्रतिक्रिया जनाएपछि उनीहरूको सम्बन्धमा सुधार भएको संकेत देखिएको छ। ट्रम्पले सोमबार मस्कबारे बोल्दै भनेका थिए, ‘हाम्रो सम्बन्ध राम्रो छ, म उनलाई शुभकामना दिन्छु।’ मस्कले यसको जवाफमा मुटुको इमोजीसहित पोस्ट गरेका छन्। आइतबार लस एन्जलसको आप्रवासनविरोधी दंगामा ट्रम्पको कदमलाई मस्कले समर्थन गरेपछि विवाद कम भएको स्पष्ट संकेत प्राप्त भएको थियो। ‘गभर्नर ग्याभिन न्यूसोम र मेयर बासले लस एन्जलसका जनतासँग गरेको खराब व्यवहार र दंगाको लागि माफी माग्नुपर्छ,’ मस्कले साझा गरेको पोस्टमा ट्रम्पले लेखेका छन्। उनले थपे, ‘यी प्रदर्शनकारी होइनन्, तिनीहरू समस्या निम्त्याउने र विद्रोह गर्नेहरू हुन्।’ मस्कले दंगाबारे उपराष्ट्रपति जेडी भान्सको पोस्ट पनि साझा गरेका थिए। भान्सले लेखेका छन्, ‘यस्तो बेला निर्णायक नेतृत्व चाहिन्छ। राष्ट्रपतिले दंगा र हिंसा सहने छैनन्।’ आइतबार मस्कले सामाजिक सञ्जालमा ट्रम्पसँगको मतभेदको सन्दर्भमा ठट्टा गर्दै लेखेका थिए, ‘ममाथि कति चरित्र हत्या भएको छ, यो निकै अपमानजनक छ, खासगरी मबाट।’ केही दिनअघि ट्रम्प र मस्कबिच एक विधेयक जसलाई ‘बिग एण्ड ब्युटिफुल बिल’ नाम दिइएको छ। बिललाई लिएर विवाद भएको थियो। मस्कको आलोचनाबाट रुष्ट ट्रम्पले मस्कलाई विधेयकबारे जानकारी भएको र विद्युतीय सवारी प्रोत्साहन हटाउँदा कुनै आपत्ति नभएको दाबी गरेका थिए। मस्कले त्यसलाई ‘झूट’ भनेका थिए। त्यसपछि दुवैबिच सामाजिक सञ्जालमा सवाल-जवाफ भएको थियो। ट्रम्पले सरकारी दक्षता विभाग गठन गरी २ खर्ब डलर कटौती गर्न मस्कलाई जिम्मेवारी दिएका थिए। ‘एलन कमजोर थिए, मैले उनको विद्युतीय सवारी नीति हटाएँ, जसले सबैलाई त्यस्ता सवारी किन्न बाध्य बनाउँथ्यो, र उनी रिसाए,’ ट्रम्पले भने। अर्को बयानमा उनले थपे, ‘एलनले मेरो विरुद्ध गएकोमा मलाई आपत्ति छैन। तर उनले पहिल्यै त्यसो गर्नुपर्थ्यो। यो विधेयकले १.६ खर्ब डलर खर्च कटौती गर्छ र ठूलो कर छुट दिन्छ।’ उनले अगाडि भने, ‘यदि यो पारित भएन भने ६८ प्रतिशत कर वृद्धि हुनेछ। मैले यो अव्यवस्था बनाएको होइन, म समाधान गर्न आएको हुँ।’ मस्कले ट्रम्पलाई विवादास्पद व्यक्तिसँग जोडेर आलोचना गरेका थिए। तर पछि उनले त्यो पोस्ट हटाए। मस्कले ट्रम्पलाई ‘कृतघ्न’ भन्दै आफ्नो सहयोगबिना चुनाव नजित्ने दाबी पनि गरेका थिए। उनले ट्रम्पलाई महाअभियोगमार्फत हटाएर भान्सलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका थिए। ट्रम्पले शुक्रबार समाचारमा मस्कसँग कुरा गर्न इच्छुक नभएको र ‘एलनले कुरा बिगारेको’ बताए। उनले मस्कको नयाँ राजनीतिक दल बनाउने सुझावलाई पनि बेवास्ता गर्ने जनाए। एजेन्सी

Read More

जेलेन्स्की भन्छन्– अमेरिकाले युक्रेनलाई दिने भनेको २० हजार मिसाइल मध्यपूर्व पठायो

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई दिने भनेको २० हजार मिसाइल मध्यपूर्व पठाएको आरोप लगाएका छन् । उनले मिसाइल युक्रेन पठाउने सम्बन्धमा तत्कालीन जो बाइडेन प्रशासनसँग सम्झौता भएको तर डोनाल्ड ट्रम्प प्रशासनले मध्यपूर्वतर्फ डाइभर्ट गरेको बताएका छन् । यसअघि, युक्रेनको राजधानी किभमा एबीसी न्युजका संवाददातासँग कुरा गर्दै उनले भनेका थिए, “अमेरिकाको सहयोगबिना हामीले धेरै हार्नेमात्र हो ।” रुसले युक्रेनविरुद्ध ड्रोन आक्रमण थालेका बेला अमेरिका ठूलो संख्याका मिसाइल डाइभर्ट गरिदिएको हो । रुसले आइतबार रातिमात्र युक्रेनमा ४७९ ड्रोन र २० वटा मिसाइलले आक्रमण गरेको थियो । गत हप्तामात्र युक्रेन आक्रमण गरेपछि रुसले आक्रमणलाई तीव्र पारेको छ ।

Read More

सरूवाको ४९ औं दिनसम्म पनि विराटनगर आउन पाएनन् प्रमुख प्रशासकीय अधिकृत

गएको वैशाख ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबमोजिम ४७ सहसचिवको एकैपटक सरूवा सूची सार्वजनिक गर्‍यो। नयाँ सूचीअनुसार सहसचिव रामचरित्र मेहताको सरूवा विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा भयो। लगत्तै विराटनगर महानगरका मेयर नागेश कोइरालाले मेहतालाई हाजिर गर्न नदिने बताएका थिए। मन्त्रालयले सहसचिवहरूको सरूवा गर्ने निर्णय गरेको मंगलबार ४९ दिन पूरा भएको छ। तर, विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत मेहता हाजिर हुन आएका छैनन्। महानगरका मेयर कोइराला आफैले फोन गरेर ‘म तपाईंलाई हाजिर गराउन सक्दिनँ, नआउनुहोला’ भनेका कारण आफू विराटनगर नगएको सहसचिव मेहताले बताए। ‘महानगर गएर मेयरसँगै मिलेर काम गर्नुपर्ने हो, मेयरले नआउनु भनेपछि म द्वन्द्व निम्त्याउने गरी नगएको हो,’ अहिले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत रहेका मेहताले भने, ‘मैले यहाँ मन्त्रीज्यू र सचिवज्यूहरूलाई पनि भनेको थिएँ। उहाँहरूले पनि ठीकै छ, अहिले यतै (काठमाडौं) काम गरिरहनुस् भन्नुभयो। त्यसैले म गएको छैन।’ संघीय सरकारले आफूसँग सल्लाह नगरी पठाएका कर्मचारीलाई  हाजिर नगराउने  मेयर कोइरालाको अडानले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन अनिश्चित बनेको हो। विराटनगर महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको अवकाशपछि रामप्रसाद ढुंगेल अहिले कामु प्रमुख प्रशासकीय अधिकृत छन्। उनी उपसचिव हुन्। संघीय सरकारले महानगरसँग कुनै परामर्श नगरी कर्मचारीलाई पठाएको भन्दै मेयर कोइरालाले मेहतालाई हाजिर गर्न नदिने बताएका थिए। हानगर प्रमुख कोइरालाले तीन तहको सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने संवैधानिक व्यवस्थालाई संघ सरकारले बेवास्ता गरेको बताएका छन्। ‘स्थानीय तहलाई केही सोध्दै नसोध्ने शैली संघीयताको मर्मअनुसार थिएन,’ उनले भनेका छन्, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हामी हाजिर गराउँदैनौं भनेका थियौं, गराएका छैनौं।’ सहसचिव मेहताका अनुसार सरूवाको भोलिपल्ट अर्थात् वैशाख १० गते मेयर कोइरालाको सचिवालयबाट फोन आएको थियो। ‘मेयर साबले तपाईंलाई हाजिर नगराउने भन्नुभएको छ, नआउनू होला,’ सचिवालयको भनाइ उदृत गर्दै मेहताले भने, ‘त्यसपछि भेरिफाइ गर्न मैले मेयरलाई नै फोन गरेँ। उहाँले विभिन्न कारणले गर्दा म तपाईंलाई हाजिर गराउन सक्दिनँ भन्नुभयो। मेरो मर्यादाले पनि त्यसपछि आउन दिएन।’ सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्ला भन्ने प्रतिक्षामा आफू रहेको मेहताले बताए। ‘विराटनगर महानगर कसैको नाममा रजिष्ट्रेसन पास भएको होइन होला। हेर्दै जाऊँ अब के हुन्छ,’ उनले भने। सहसचिव मेहता  यसअघि इटहरी, इनरुवा नगरमा  प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए।

Read More

कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन – विद्या भण्डारी

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी केही दिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा बसेर काठमाडौं फर्किएकी छन् । झापा, सुनसरी र मोरङका एमाले कार्यकर्ताहरूसँग भेटघाट सकेर उनी मंगलबार काठमाडौं फर्किएकी हुन् । चीनको १० दिने भ्रमण सकेर फर्किएपछि सिधै कोशी प्रदेशमा पुगेकी भण्डारीको सक्रियतालाई लिएर आइतबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले रोष प्रकट गरेका थिए । उनले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउन गरिरहेको प्रयासप्रति अनेरास्ववियुको महाधिवेशनलाई सम्बोधनका क्रममा असहमति जनाएका थिए । पूर्वराष्ट्रपति भण्डारी ओलीकै गृहजिल्ला झापामा व्यस्त रहेका बेला यति प्रधानमन्त्रीसमेत रहेका उनी कीर्तपुरमा झोंक्किएका थिए । आफ्नो गृहजिल्लामा नेता-कार्यकर्तासँग भेटघाट गरिरहेकी भण्डारीले राजनीतिमा गर्न खोजेको पुनरागमन प्रयासलाई गुट निर्माण प्रयासको संज्ञा दिएका थिए । ‘तल तल ग्रुप बनेको सुनिरहेको छु । यो ग्रुप र त्यो ग्रुप एमालेमा आवश्यक छैन । अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ । फलाना आउने रे, फलना आउने रे, को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे !’, उनले भण्डारीले राजनीतिमा फर्किन गरेको प्रयासलाई लिएर भनेका थिए, ‘महाधिवेशनबारे हामीबीच छलफल भएकै छैन ।’ ओलीले आफ्नो सक्रियताबारे रोषपूर्ण टिप्पणी गरेको दुई दिनपछि झापाबाट काठमाडौं फर्किने क्रममा मोरङ विमानस्थलमा एमालेकै पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले नेता-कार्यकर्तासँग भेटघाट र छलफल गर्न पार्टीको अनुमति नचाहिने बताएकी छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा भण्डारीले आफूले एमालेमा संगठित सदस्य नलिएदेखि काम गरेको बताइन् । ‘एमाले मैले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी हो’, उनले भनिन्, ‘यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता छैन ।’ उनले आफू राष्ट्रपति बन्नअघि पनि एमालेमै काम गरेको स्मरण गराएकी छन् । ‘म राष्ट्रपति हुनुपहिले, संगठित सदस्यता लिनुपहिले नै पार्टीमा काम गरेर आएकी हुँ। मेरो चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हो’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्छ, भेटघाट गर्दै गर्नुपर्छ, जनताको विचार बुझ्नुपर्छ । नयाँ पुस्ताका आकांक्षा जान्नुपर्छ । नयाँ पुस्ताको आकांक्षा पूरा गर्न, राष्ट्रिय आकांक्षा साकार बनाउन लाग्नु हाम्रो कर्तव्य हो।’ उनले त्यसका लागि आफूहरूले बाँचुन्जेल संघर्ष गर्नुपर्ने बताइन् । ‘हामीले देशका लागि, नयाँ पुस्ताका लागि देशका लागि काम गर्नुपर्छ । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन’, उनले ओलीलाई जवाफ दिँदै प्रष्ट शब्दमा भनिन् । उनले एमालेको अध्यक्ष बन्न आफूले गुटगत गतिविधि गरेको भनेर लागेको आरोपको पनि खण्डन गरिन् । ‘अध्यक्ष ओली(केपी शर्मा ओली)जीले मलाई नै तोकेर भन्नुभयो होला भन्ने लाग्दैन । म कहिले गुट नबनाएको मान्छे, त्यसो भन्न मिल्दैन’, उनले थपिन्, ‘उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ? अरू आकांक्षीको मनमा प्रश्न उठेको होला ।’ उनले आफू एमालेमा फर्किएर काम गर्न इच्छुक रहेको पनि संकेत गरिन् । ‘जहाँ जसरी हुन्छ काम गर्ने हो । ओलीजीले महाधिवेशन आएपछि नेतृत्व निर्माण हुन्छ, मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्छ’, उनले भनिन् । प्रधानमन्त्री ओलीले आइतबार भण्डारीलाई लक्षित गरि कडा अभिव्यक्ति दिएका थिए। भण्डारीले गुटबन्दी गर्न थालेको आरोप लगाउँदै उनले त्यसको पछि नलाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए । भण्डारी कोशीमा रहँदा मोरङ र सुनसरीमा चार दिन बसिन् । उता झापामा एमालेकै कार्यक्रममा प्रमुख अतिथि बनिन् । दुई कार्यकाल राष्ट्रपति भएपछि उनी राजनीतिमा फर्किन खोज्दैछिन् । त्यहीकारण उनी झापा पुगेर एमालेको कार्यक्रममा पहिलो पटक प्रमुख अतिथि भइन् । त्यससँगै भण्डारीले कोशीका कार्यकर्तासँग बाक्लो भेटघाट र संवाद गरेकी छन् । नेकपा (एमाले)को नवौँ महाधिवेशनमा ओलीकै प्यानलबाट उनी उपाध्यक्ष भएकी थिइन् । त्यसपछि उनी २०७२ साल कात्तिकमा देशको दोस्रो राष्ट्रपति बनिन् । एमालेले २०७४ फागुनमा पनि उनैलाई राष्ट्रपतिमा दोहोर्‍याो । दुई कार्यकाल देशको सर्वोच्च पदमा पुगेर उनी २०७९ फागुनमा शीतल निवासबाट बाहिरिएकी हुन् । त्यसयता उनी निरन्तर राजनीतिमा फर्किने कोशिशमा छिन् । उनले मोरङ, सुनसरी र झापा पुगेर त्यही सन्देश दिइन् । एमालेकै कार्यक्रममा प्रमुख अतिथि बनेपछि उनले सक्रिय राजनीतिको ढोका खोलेकोमा अब शंका रहेन। अर्कातिर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको उपाध्यक्ष भइसकेकाले भण्डारीलाई पनि राजनीतिमा फर्किएर एमालेको बागडो समाउने ढोका खुलिसकेको छ।

Read More

क्यालिफोर्नियाका गभर्नरलाई पक्राउ गर्नुपर्ने मागमा ट्रम्पको समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमलाई पक्राउ गर्नुपर्ने भनाइमा समर्थन जनाएका छन् । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग सोमबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले गभर्नर न्युसमलाई पक्राउ गर्नुपर्ने बताएका हुन् । गभर्नर न्युसम र ट्रम्पका सीमा प्रमुख टोम होमनबीच चलेको विवादबारे फक्स न्युजका संवाददाता पिटर डुसीले सोधेको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पको भनाइ आएको हो । सीएनएनले रेकर्ड गरेको भिडियोमा पत्रकार डुसीले ट्रम्पलाई सोधेका छन्, “गाभिन न्युसमले टोम होमनलाई आफूलाई पक्राउ गर्न चुनौती दिएका छन् । के उनले यो गर्नुपर्छ ?” जवाफमा ट्रम्पले भनेका छन्, “म टोम भए, यो काम गर्थें ।” उनले अगाडि भनेका छन्, “गाभिनले प्रचार मन पराउँछन् । तर मलाई लाग्छ, पक्राउ गर्दा राम्रो हुनेछ ।” उनले न्युसमलाई राम्रो तर अत्यन्तै अक्षम व्यक्ति भनेका छन् । उता गभर्नर न्युसमले सामाजिक सञ्जालमार्फत ट्रम्प प्रशासनको कदमलाई अधिनायकवादतर्फ उन्मुख भनेका छन् । राष्ट्रपति ट्रम्पको टिप्पणी ट्रम्पका सीमा प्रमुख टोम होमनले लस एन्जलसमा चलिरहेको अध्यागमन कारबाहीमा गभर्नर न्युसम र लस एन्जलसका मेयर करेन बासले हस्तक्षेप गरे उनीहरूलाई पक्राउ गर्ने धम्की दिएपछि आएको हो । होमनको धम्कीको प्रतिक्रियामा गभर्नर न्युसमले एमएसएनबीसीलाई भनेका छन्, “उनी कडा मानिस हुन्, तर उनी मलाई किन पक्राउ नगरेको हो बुझ्न सकेको छैन ? म कहाँ छु भन्ने उनलाई थाहा छ ।” न्युसम र अन्य डेमोक्रेटिक नेताले लस एन्जलसको हिंसात्मक प्रदर्शनमाथि दमन गर्न ट्रम्पले राष्ट्रिय गार्ड प्रयोग गरेपछि आलोचना गरेका छन् । उनीहरूले बल प्रयोग गरिए अरू समस्या ल्याउने बताएका छन् । न्युसमले ट्रम्प प्रशासनविरुद्ध मुद्दा चलाउने योजना पनि घोषणा गरेका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको प्रदर्शन नियन्त्रण गर्न संघ सरकारले ७०० भन्दा बढी स्थल र जल सैनिक लस एन्जलसमा परिचालन गरेको छ । अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको थियो ।

Read More

राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पारित

काठमाडौँः राष्ट्रिय सभाले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ पारित गरेको छ। सो विधेयक अब प्रतिनिधि सभामा पठाइने छ। सभाको सोमवारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पारित गरियोस् प्रस्ताव प्रस्तुत गर्नुभएकोमा सभाले सो प्रस्ताव सर्वसम्मतले पारित ग¥यो। प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै यातायातमन्त्री दाहालले विधेयक दुवै सदनबाट पारित भई कानुनको रूप लिएपछि आन्तरिक जलमार्गमा जलयान सञ्चालनका लागि बाटो प्रशस्त हुने बताए। नेपालबाहिर र समुद्रमा समेत पानीजहाज सञ्चालनका लागि सरकारले आवश्यक पहल र अग्रसरता लिने बताउनुहुँदै उनले नारायणी नदीबाट भारतसम्मको पहुँच र समुद्रसम्मको पहुँचका लागि भारत सरकारबाट अध्ययन भइरहेको जानकारी गराए। उहनले भने, “भारत सरकारको जल यातायात हेर्ने मन्त्रालयले नेपालको नदीमा जलयान सञ्चालनबारे डिपिआर बनाएर राखेको छ। थप अध्ययन आवश्यक हुने छ।” छलफलमा भाग लिँदै सभाका सदस्य सुरेश आलेमगर, रुक्मिणी कोइराला र तारामान स्वाँरले जल यातायातलाई वैकल्पिक मार्गका रूपमा प्रभावकारी कार्यान्वयन गर्न सरकारको इमानदार प्रयास आवश्यक रहेको बताए। सभाका सदस्य स्वाँरले सरकारले तत्परता र इमानदारी देखाए जल यातायात पर्यटन, व्यापार र यातायातको एउटा उपयुक्त र प्रभावकारी माध्यम हुने जिकिर गरे। सभाका सदस्य डा. वेदुराम भुसालले समुद्रसँगको पहुँच हाम्रो अधिकारको विषय रहेको र कानुन बनेपछि समुद्रमा पानीजहाज सञ्चालन गर्न पाउने ढोका खुला हुने बताए। सभाका सदस्य विष्णुबहादुर विश्वकर्माले नेपालबाट हजारौँ श्रमिक पानीजहाजमा कार्यरत रहेको बताउँदै नाभिक परिचयपत्र आफू नागरिक रहेको देशले जारी गर्नुपर्ने कानुनी व्यवस्थाले विदेशमा पानीजहाजमा कार्यरत कामदार परिचयपत्रविहीन हुनुपरेको र विधेयकले सो विषय सम्बोधन गरेकाले हजारौँ श्रमिकले राहत पाउने विश्वास व्यक्त गरे।

Read More
Back To Top