नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की नेता हिसिला यमी भट्टराईले नेकपा (माओवादी केन्द्र) ‘डेट एक्सायर’ औषधि भइसकेको टिप्पणी गरेकी छन्। ‘माफ गर्नुहोला, हाल माओवादी डेट एक्सपायर औषधि भइसक्यो। त्यसको संरचनाले अब कब्जियत बढाउँछ,’ उनले फेसबूकमा लेखेकी छन्।
फेसबूकमा सी जीवन नाम भएका माओवादी समर्थित एक प्रयोगकर्ताले नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पुन: माओवादीमा फर्किनका लागि आह्वान गरेका थिए। उक्त पोस्ट साझेदारी गर्दै यमीले माओवादीका प्रति यस्तो टिप्पणी गरेकी हुन्। उनले अब माओवादीबाट पार नलाग्ने जिकिर गरेकी छन्।
डा. बाबुराम भट्टराईपत्नी यमीले पति भट्टराईसँगै माओवादी त्यागेकी थिइन्। सशस्त्र माओवादी जनयुद्ध नेतृत्व गर्नेमध्येका एक नेता भट्टराईले संविधान सभाबाट संविधान जारी भइसकेपछि २०७३ सालमा माओवादी छाडेका थिए। त्यसपछि उनले नयाँ शक्ति पार्टी गठन गरेका थिए।
तत्पश्चात् मुख्यत: मधेसवादी दलहरूसँग एकता र फुटको शृङ्खला हुँदै अहिले उनी नेसपा (नयाँ शक्ति) मा आइपुगेका छन्।
अर्कोतिर, पूर्वमाओवादी ध्रुवीकरणको बहस छ। त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गृहकार्यसमेत गरिरहेका छन्। पहिले माओवादीबाटै फर्किएका कतिपय नेताहरू फर्किन पनि थालेका छन् भने नेत्रविक्रम चन्दलगायतका नेताहरू पुन: माओवादीमै फर्किन राजी भइसकेका छन्।