देउवाले चाहेको र बनाउन सक्ने सभापतिको सम्भावित उम्मेदवार को हो त?

‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो। हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ। म रिटायर्ड हुन लाग्या छु। यो पार्टीलाई एक बनाउने इच्छा छ,’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवारा शुक्रबार चितवनमा व्यक्त विचारको एक अंश हो यो।

पार्टी विधानले तेस्रो पटक सभापति बन्न रोक लगाएसँगै देउवा १५औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्न पाउने छैनन्। तर कतै देउवाले विधान नै संशोधन गरेर फेरि उम्मेदवार बन्ने त होइन भन्ने आशंका पार्टीकै नेताहरूले गर्दै आएका थिए। यो आशंकालाई देउवाले चिरेका छन्।

कांग्रेसनेत्री गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा शुक्रबार चितवन पुगेका देउवाले आफू पार्टीबाट ‘रिटायर्ड’ हुन लागेको बताएका हुन्। पहिलो पटक उनले यस्तो अभिव्यक्ति दिएका हुन्। देउवाको यो अभिव्यक्तिसँगै अब देउवाको उत्तराधिकारी को भन्ने बहस कांग्रेसमा थप मुखर हुने विश्लेषण गर्न थालिएको छ। दोस्रो पुस्ताका नेताहरूले देउवाको उत्तराधिकारी बन्न आआफ्नै ढंगबाट प्रयास तीव्र बनाउँदै आएका छन्। देउवाले चाहेको र बनाउन सक्ने सभापतिको सम्भावित उम्मेदवार को हो त?

यस विषयमा देउवा स्वयंले केही खुलाएका छैनन्। तर २०८० भदौ १९ गते चितवनबाटै कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाले १५औं महाधिवेशनमा देउवाको साथ र समर्थन आफूले पाउने संकेत गरेका थिए। ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, नहुने भन्ने के छ र?’ शशांकले त्यतिबेला भनेका थिए।

पार्टी नेतृत्वका आकांक्षी अन्य नेताहरू पनि रहेको स्वीकार गरेका शशांकले सबैसँगको छलफलमै अघि बढ्ने दाबी गरेका थिए। देउवाले शुक्रबार चितवन पुगेर आफू रिटायर्ड हुन लागेको बताइरहँदा शशांक र पूर्वउपसभापति विमलेन्द्र निधि पनि सँगै थिए। देउवासँग निकट मानिएका निधिसँगै प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठसहितका नेता नेतृत्वका आकांक्षी छन्।

यसअघि १४औं महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले पनि नेतृत्वमा पुग्न नेता–कार्यकर्तासँगको भेट र भेलालाई तीव्र पारेका छन्। महामन्त्री गगनकुमार थापा पनि नेतृत्वका आकांक्षी हुन्। उनले पनि पार्टीका नेता र कार्यकर्तासँगको भेटलाई तीव्रता दिएका छन्।

२०४६ सालको राजनीतिक परिवर्तनपछि विधानको अतिरिक्त सुविधा प्रयोग गरेर मात्र महाधिवेशन गर्दै आएको कांग्रेसमा अरू कोको नेतृत्वका आकांक्षी छन्, खुल्दै जालान्। राजनीतिमा असम्भव भन्ने केही नभएको भन्दै अन्तिममा देउवाको साथ र समर्थन शेखरलाई नै हुन सक्ने कतिपयको तर्क र विश्लेषण छ। तर, कांग्रेसभित्रको अहिलेसम्मको अवस्थाले त्यो सम्भावना अत्यन्तै कम मात्र होइन, कमजोर देखिएको छ। त्यसो भए देउवाको समर्थन कसलाई रहन्छ त? देउवा निकट कतिपय नेता र कांग्रेसका जानकारहरूका अनुसार उनको प्राथमिकताको सूचीमा शशांक कोइराला र कृष्णप्रसाद सिटौला अघि पर्न सक्छन्। त्यसपछि पूर्णबहादुर खड्का, निधि, सिंह, श्रेष्ठसहितका नेताहरू प्राथमिकतामा पर्ने विश्लेषण गरिएको छ।

१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षमा विद्रोह गरेर सिटौला सभापतिको प्रत्यासी बनेका थिए। नेतृत्व चयन दोस्रो चरणमा जाँदा सिटौलाले देउवालाई समर्थन गरेका थिए। रामचन्द्र पौडेल (हालका राष्ट्रपति) सभापतिमा पराजित भएका थिए। पौडेल समूहबाट महामन्त्रीका उम्मेदवार शशांक भने निर्वाचित भएका थिए।

१४औं महाधिवेशनमा भने सिटौला आफू सभापतिको उम्मेदवार बनेनन्। त्यसबेला देउवाको सहयोगी बनेका सिटौला राष्ट्रपतिका आकांक्षी रहेको निकटहरूको दाबी थियो। तर आफ्नै समूहबाट साझा उम्मेदवार बन्न असफल भएपछि पौडेल महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धाबाट अलग भए। त्यसको लाभ महाधिवेशनमा देउवालाई नै भयो। देउवाले पछि पौडेललाई राष्ट्रपति बनाए।

प्रतिनिधिसभा सदस्यमा पराजित सिटौलालाई देउवाले राष्ट्रियसभा सदस्य बन्न आग्रह गरे। देउवा र तत्कालीन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सिटौलार्ला राष्ट्रियसभा अध्यक्ष बनाउने आश्वासन दिएका थिए। त्यसअघि नै माओवादी केन्द्रले कांग्रेससहितका दलहरूसँगको गठबन्धन तोड्दा सिटौला उक्त भूमिकामा पुुग्न पाएनन्। त्यसपछि सिटौला–देउवा सम्बन्ध थप बलियो बन्दै गएको निकटहरूको दाबी छ।

शेखरसहितले महाधिवेशन केन्द्रित भेटघाटलाई तीव्र बनाएपछि सिटौलाकै अगुवाइमा गत फागुन पहिलो साता ११ जना नेताले देउवालाई भेटेर सभापतिको उम्मेदवार तोक्न दबाब दिएका थिए। तर देउवाले समय आएपछि छलफल गरेर अघि बढ्ने बताएका थिए।

१४औं महाधिवेशनमा शेखर सभापतिको प्रत्यासी बन्दा उनको पक्षमा शशांक खुलेनन्। देउवा इतर समूहबाट आफू वा पौडेललाई सभापतिको उम्मेदवार बन्ने/बनाउने शशांकको चाहना थियो। चाहनाअनुसार नभएपछि शशांक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर मौन बसे। त्यसको लाभ देउवालाई पुग्यो। देउवा १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए।

१५औं माधिवेशनमा देउवाले त्यो गुन शशांकलाई तिर्ने एकथरी कांग्रेस नेताहरूको विश्लेषण छ। देउवाबाट शशांकले केही आश्वासन वा संकेत पाएको हुनसक्ने अनुमान कांग्रेसभित्र लगाउने गरिएको छ।

राजनीतिक मात्र होइन, जीवनको उत्तरार्धमा पुगेका देउवाले पार्टी नेतृत्व बिपी (बिपी कोइराला) कै छोरामा हस्तान्तरण गर्न लागेको भावुक कुरा गरेर निकटहरूको व्यवस्थापनलाई सहज बनाउन सक्ने तर्क पनि कांग्रेसभित्रै गर्न थालिएको छ। आफू बिपीको सच्चा अनुयायी भएको बताउने देउवाका लागि नेतृत्वका आकांक्षीमध्ये शशांक कम खतरा हुने पनि उनीहरूको बुझाइ छ। तर शशांक देउवाको साथ र समर्थन नपाए सभापतिको प्रत्यासी पनि नबन्ने निकटहरूको दाबी छ। त्यस्तो अवस्थामा शशांक शेखरको पक्षमा खुल्ने विश्लेषण गर्न थालिएको छ।

कांग्रेसका कतिपय नेताहरू शेखर, शशांक र सुजाता कोइराला मिलाउन सक्रिय भएका छन्। अघिल्लो महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य तीनतिर फर्कंदा त्यसको लाभ देउवाले उठाएको जनाउँदै शुभेच्छुकहरूले उनीहरूलाई मिल्न दबाब बढाउन थालेका हुन्।

त्यस्तै पूर्वउपसभापति निधि पनि देउवासँग चिसिएको सम्बन्ध सुधार गरेर उत्तराधिकारी बन्ने कोसिसमा छन्। देउवाका अप्ठेराका सहयोगी निधि १४औं महाधिवेशनमा भने देउवासँगै सभापतिको प्रत्यासी बनेका थिए। पहिलो चरणमा सभापति निर्वाचित हुन आवश्यक मत कसैले पनि पाएनन्। बढी मत पाएका दुई उम्मेदवारबिच दोस्रो चरणमा गएको निर्वाचनमा निधि देउवाको पक्षमा खुलेका थिए। उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहँदा नेपाल प्रहरीको प्रमुख (प्रहरी महानिरीक्षक) नियुक्तिलाई लिएर देउवा र निधिको सम्बन्धमा खटपट आएको थियो। त्यससँगै चिसिएको सम्बन्ध पुरानो अवस्थामा अझै फर्केको छैन।

अहिले उपप्रधानमन्त्रीसमेत रहेका पूर्वउपसभापति प्रकाशमान सिंह पनि १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार थिए। रामचन्द्र पौडेल र शेखर कोइराला नभए आफूलाई देउवा इतर समूहबाट सभापतिको प्रत्यासी बनाउनुपर्ने उनको जिकिर थियो। नेताहरूबिच समझदारी निर्माण नहुँदा इतर समूहबाट शेखर र सिंह दुुवै उम्मेदवार बनेका थिए।

दोस्रो चरणमा गएको निर्वाचनमा सिंह देउवाको पक्षमा खुलेका थिए। अहिले सिंह, निधि, शशांक, सिटौला, श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशशरण महतसहितका नेताले आगामी महाधिवेशन केन्द्रित ‘लन्च मिटिङ’ गर्दै आएका छन्। उनीहरूले सातै प्रदेशमा भेला आयोजना गर्ने जनाउँदै आगामी महाधिवेशनमा साझा उम्मेदवार बनाउने दाबी गर्दै आएका छन्।

देउवा समूहबाटै उपसभापति निर्वाचित पूर्णबहादुर खड्का पनि सभापतिको आकांक्षी छन्। देउवालाई विगतदेखि वर्तमानसम्म सहयोग गर्दै आएका खड्काले आफू नै देउवाको उत्तराधिकारी भएको निकटहरूसँग बताउँदै आएका छन्। नयाँ र पुराना पुस्ताका नेताहरूको सन्तुलन मिलाएर आफूले मात्र पार्टीलाई अघि बढाउन सक्ने खड्काले निकटहरूसँग बताउने गरेका छन्।

शेखर समूहबाटै महामन्त्री निर्वाचित गगनकुमार थापा पनि नेतृत्वका आकांक्षी छन्। नेतृत्वको दौड बढाएसँगै शेखरसँग उनको दूरी बढ्दै गएको छ। शेखर र गगनबिचको सम्बन्धमा थप सुधार नआए महाधिवेशनमा उनीहरू एक ठाउँमा उभिने अवस्था आउनसक्ने निकटहरूको बुझाइ छ। सम्बन्ध सुधार्न शेखर र गगन निकटहरू लागिपरेका छन्। उनीहरूको प्रयास सफल हुुन नसके उपसभापति खड्का र महामन्त्री थापा एउटा बिन्दुमा उभिने अवस्था आउने विश्लेषण पनि गर्न थालिएको छ।

विधानमा भएको चार वर्षको समयसीमाअन्तर्गत मंसिरभित्र कांग्रेसको १५औं महाधिवेशन नहुने निश्चित छ। कांग्रेस विधानअनुसार महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ। विधानमा एक वर्ष कार्यकाल थप गर्न पाउने व्यवस्था छ। एक वर्ष कार्यकाल थप गर्दा कांग्रेसलाई २०८३ मंसिरसम्म महाधिवेशन गर्ने समय मिल्नेछ।

संवैधानिक व्यवस्थाअनुसार प्रत्येक राजनीतिक दलले साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्छ। यो प्रावधान विगतमा प्रयोग गरेको कांग्रेसले अब पनि उपयोग गर्नुपर्ने रणनीतिमा केही नेता लागेका छन्। त्यस्तो अवस्थामा कांग्रेसलाई थप ६ महिना समय मिल्नेछ।

यस्तो अवस्थामा १५औं महाधिवेशन २०८४ वैशाख/जेठसम्म गर्न कांग्रेसले समय पाउनेछ। सभापति देउवासहितका केही नेता महाधिवेशन २०८४ को आमनिर्वाचनपछि गर्ने रणनीतिमा रहेको पनि केहीले बताउँदै आएका छन्। देउवाले शुक्रबार महाधिवेशन आम निर्वाचनपछि गर्ने त बताएनन् तर कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउन चाहेको भने बताए।

कतिपयले उनको अभिव्यक्तिलाई निर्वाचनपछि मात्र नेतृत्व हस्तान्तरण गर्ने रणनीतिका रुपमा अथ्र्याउन थालेका छन्। नेतृत्वका आकांक्षी सबैले २०८३ भित्रै महाधिवेशन गर्नुपर्ने बताउँदै सोहीअनुसार गतिविधिलाई तीव्रता दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top