Samachar Bank

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।  आज निर्धारित समयभन्दा करिब साढे १ घण्टापछि सुरु भएको संसद् केहीबेर मै आधा घण्टाका लागि स्थगित भएको छ  । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले नाराबाजी गरेका कारण अगाडि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका छन् । आइतबार पनि बैठक सुरु हुने बित्तिकै विपक्षी दलले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

Read More

राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले प्रस्तुत विधेयकले भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । ‘राजस्व चुहावट रोक्न, भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन, अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न विधेयकले योगदान दिनेछ’, उनले भने । सो प्रस्तावमाथिको छलफलमा सांसदहरू गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, डा बेदुराम भुसाल, तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र गोपाल भट्टराईले भाग लिएका थिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने बताए  ।  त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेस गरिन् । बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरे ।

Read More

कैलालीको एक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित, विद्यालयमा तालाबन्दी

धनगढीः कैलालीको एक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–६ खरुवाखेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका हुन्। आफू खुशी शिक्षक सरुवा गरेर विद्यालय प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। आन्दोलित विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन्। धेरै समयदेखि कार्यरत शिक्षकको बिना जानकारी सरुवा हुँदा विद्यालयमा महिना दिनसम्म पढाइ ठप्प हुने गरेको विद्यार्थीको गुनासो छ। उनीहरुले विद्यालयमा कार्यरत शिक्षकहरुको सरुवा नगर्न माग गर्दै आफू अध्ययनरत विद्यालयमा ताला लगाएका छन्। विद्यालयमा विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेकाले उनीहरुसहित अभिभावक पनि आन्दोलित बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुनराम चौधरीले बताए। उनले दुई शिक्षक सरुवा भइसकेको र फेरि तीन जनासम्म शिक्षक सरुवा हुने कुरा सुनिएको उल्लेख गरे। विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजनीति गरिरहेको भन्दै दुवै जनाले राजीनामा दिनु पर्ने अभिभावकको माग छ। विद्यालयका प्राध्यानाध्यापक खडक नायकले विद्यालयमा कुनै पनि राजनीति नभएको जिकिर गर्दै ताला लगाएर विद्यार्थीले आफ्नो भविष्यमाथि आफै खेलवाड गरिरहेको बताए। “शिक्षक सरुवा गर्ने अधिकार हामीलाई छैन। गाउँपालिकाको शिक्षा समितिले सरुवा गर्ने हो”, उनले भन्ने, “मैले न सरुवा गर्न सक्छु न त सरुवा रोक्न सक्छ।” कैलारी गाउँपालिका–६ का वडा अध्यक्ष प्रेम चौधरीले विद्यालयमा उत्पन्न समस्या समाधानको प्रयास भइरहेको बताए।

Read More

जाजरकोटमा युवकलाई बाँधेर चक्कु प्रहार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने दुई जना काठमाडौंमा पक्राउपछि जाजरकोट ल्याइएका छन् । जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं. ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे –८ का  २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार भएको थियो। गाडी समितिको विषयलाई लिएर सिंहमाथि चक्कु प्रहार गरी तीन जना फरार भएका थिए। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार सिंहमाथि कुशे–७ समकोटका २७ वर्षीय दिपेन्द्र सिंह, सोही ठाउँकै २७ वर्षकै तप्त सिंह भनिने तप्तबहादुर शाही र सोही ठाउँकै २३ वर्षीय भिम सिंहले मिलेर हात खुट्टा बाँधी चक्कुले पालैपालो टाउको, निधार, हात, खुट्टा तथा शरीरका विभिन्न भागमा प्रहार गरी सख्त घाइते बनाएका थिए। चक्कु प्रहारको घटनापछि उनीहरू फरार भएका थिए।  प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आनन्द सिंहको हात खुट्टा बाँधेर चक्कु प्रहार गर्नेहरूमध्ये दिपेन्द्र सिंह र तप्त सिंह भनिने तप्तबहादुर शाही काठमाडौंबाट पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँग समन्वय गरी उनीहरूलाई पक्राउ गरिएको हो।आइतबार राति ९ बजेतिर काठमाडौं कीर्तिपुर नगरपालिका–१ ट्यांलाफाटबाट उनीहरू पक्राउ परेका हुन्। सोमबार जिल्ला अदालत जाजरकोटबाट ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा थप अनुसन्धान गर्न सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए। घटनामा संलग्नमध्ये एक जना भने फरार छन्। चक्कु प्रहारबाट घाइते आनन्दको बाँकेको नेपालगन्जमा उपचार जारी छ।

Read More

पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइयो – अध्यक्ष प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटाएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताएका हुन् । समग्र आर्थिक विकास र समृद्धिका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको उनले बताए । प्रचण्डले अहिले देशको राजनीतिमा उतारचढाव देखिएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवाद उन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेको उनले बताए  । अध्यक्ष प्रचण्डले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा समावेश गरिने प्रतिबद्धता जनाए ।

Read More

भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण (आइइडी) विष्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणमा उनीसँगै रहेका अन्य केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ४११ किलोमिटर दक्षिणमा पर्ने सुकमा जिल्लाको डोन्द्रा गाउँको कोन्टा–एराबोर सडकमा विस्फोट भएको हो । घाइतेहरूलाई तुरुन्तै कोन्टाको सबैभन्दा नजिकको स्वास्थ्य केन्द्रमा लगिएको थियो। अधिकारीहरूले उक्त क्षेत्रमा थप फौज तैनाथ गरेका छन् र आक्रमणमा संलग्न रहेको आशंका गरिएका नक्सलवादीहरूको खोजी कार्य सुरु गरेका छन्। भारतको सङ्घीय सरकारले सन्  २०२६ मार्च ३१ अगावै नक्सलवादीहरूको उन्मूलन गर्ने संकल्पसहित विद्रोहीविरूद्धको आक्रमणलाई सशक्त पारेको छ । हाल भारतको मध्य र पूर्वी क्षेत्रमा नक्सलवादीहरू सक्रिय छन् ।

Read More

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै ३० मिनेटलाई स्थगित भएको छ।  भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेका हुन्। विपक्षीले उठेर टेबुल ठोक्दै विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए। आज दिउँसो २ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको थियो। ढिला सुरु भएको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। बैठकमा सभामुख घिमिरेले सदन सञ्चालनको वातावरण बनाउन अनुरोध गर्दै दलीय आधारमा बोल्न दिने बताएपछि विपक्षीले टेबुल ठोक्दै होहल्ला गरेका थिए। विपक्षीहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गरे पनि सत्तापक्ष भने यसमा तयार भएको छैन।

Read More

स्थानीय तहको सङ्ख्या ५ सय बनाउन छलफल सुरू भएको छ : याेगेश भट्टराई

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित सङ्घीयतामा बजेट सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको र त्यसलाई सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताएका हुन् । स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्नेमा उनले जोड दिए । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै सङ्घीयतालाई प्रभावकारी बनाइँदै लगिने उनको भनाइ छ । उनले अनौपचारिक हिसाबले ५ सय स्थानीय तहको सङ्ख्या बनाउनेबारे छलफल चलिरहेको उल्लेख गर्दै यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताए । उनले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गरे । आर्थिक, प्रशासनिक, राजनीति रूपमा सङ्घीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रूपमा सङ्घीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको उनको भनाई छ ।

Read More

सिसिक्यामेरा बन्द गरी डिजेल चोरी, डिपो प्रमुखसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

बिलमा उल्लेख भएकोभन्दा बढी डिजेल सप्लाई गरेको आरोपमा नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख चितरन्जन दाससहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। १२ हजार लिटर डिजेलको अर्डर स्वीकृत गरी १५ हजार ३८ लिटर लोड गरी नेपाल आयल निगमलाई चार लाख ४८ हजार रुपैयाँ हानि-नोक्सानी गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। निगमको गगनगौँडास्थित प्रादेशिक कार्यालयका प्रमुख दाससहित कास्की तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्स र उक्त कम्पनीका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाट तथा ट्यांकरचालक निर्मल थापाविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूले डिलर्स एसोसिएनका प्रतिनिधि ढुंगाना र रानाभाटसँगको मिलेमतोमा सिसिक्यामेरा बन्द गरी बिलमा उल्लेख भएभन्दा तीन हजार ३८ लिटर बढी डिजेल लोड गरेको अख्तियारले जनाएको छ। यस्ताे छ आराेपपत्र : patra

Read More

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपालीहरू बोरा र प्लास्टिकका झोला लिएर विमानस्थलबाट बाहिरिए

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपालीहरू आइतबार राति काठमाडौं आइपुगेका छन्। अमेरिकाले चार्टर्ड विमानमार्फत गएराति ९ बजेतिर नेपालीहरूलाई त्रिभुवन विमानस्थलमा ल्याएर छाडिदिएको हो। त्यसरी डिपोर्ट हुनेहरुमा ३२ जना पुरूष र पाँच जना महिला छन्। डिपोर्ट भएकाहरूमध्ये केहीले आफ्नो सामान बोरामा हालेर ल्याएका थिए।  केही प्लास्टिकका झोलामा आफ्नो सामान लिएर विमानस्थलबाट बाहिरिएका थिए। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली आइतबार नै त्रिभुवन विमानस्थल पुगेको थियो। विमानस्थलमै उनीहरूलाई सोधपुछ गरी सम्पर्कमा रहने गरी छाडिएको ब्युरोका प्रवक्ता एसपी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। डिपोर्ट भएकाहरु दलालमार्फत अमेरिका पुगेको हुन सक्छन्। पीडितहरूले उजुरी दिएको खण्डमा प्रहरीले अनुसन्धान गर्न सक्छ। यद्यपि डिपोर्ट भएकाहरुले आइतबार नै त्यस विषयमा नबोलेको एसपी कुँवर बताउँछन्। ‘पीडित हुनुहुन्छ भने उजुरी दिनका लागि उहाँहरूसँग समय छ। पछि पनि दिन सक्नुहुन्छ,’ उनले भने। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेका कारण त्यहाँको सरकारले उनीहरूलाई डिपोर्ट गरेको हो। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि आप्रवासी नीतिमा कडाइ गरिएको छ।

Read More
Back To Top