Samachar Bank

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले आयोगबाट हालसम्म भएका कामको प्रगतिबारे जानकारी दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाई तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले १० वर्षदेखि बसोबास र सरकारी जग्गा नपाएका अन्य नागरिकलाई भूमिहीन, सुकुमबासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ती जमिनामा आवाद गरेर बसोबास गरिरहेको हुनुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराए । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएमा काम गर्न सहज हुने आयोगका पदाधिकारीले बताए । प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन उक्त विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचानलाई योजनाबद्ध र तीव्रगतिमा अघि बढाउन निर्देशन दिए । सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको हो ।

Read More

प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ

काठमाडौं– प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक जना नेपाली पक्राउ परेका छन् । हैदरावादमा प्रेमिकलाई ङ्याँकेर मारी एकान्त ठाउँमा फालेको आरोपमा ३० वर्षीय नेपाली नागरिक पक्राउ परेको इण्डिया टुडेले जनाएको छ । मृतक ३३ वर्षीया तारा बोहोराको शव झोलामा राखेको अवस्थामा हैदरावादको बचुपल्ली क्षेत्रमा फेला परेको थियो । उनको शव गत जुन ४ मा फेला परेको थियो । मारिएकी तारा पनि नेपाली नागरिक नै रहेको जनाइएको छ । घटनापछि विजय तोप्पा नाम गरेका मानिसलाई पक्राउ गरिएको छ । उनी स्थानीय रेस्टुरेन्टमा सेफको काम गर्दै आएका थिए । उनी पीडितसँग ‘लिभ–इन’ सम्बन्धमा रहेको जनाइएको छ । समाचारमा जनाइएअनुसार उनीहरुको भेट फेसबुकबाट भएको थियो । ताराको यसअघि नै विवाह भएर दुई सन्तान समेत थिए । तारा गत अप्रिल १५ का दिन हैदरावाद पुगेकी थिइन् । उनी र विजय बोराम्पेट क्षेत्रमा घर भाडामा लिएर बसोबास गर्दै आएका थिए । प्रहरीका अनुसार तारा गर्भवती भएपछि गत मे २३ का दिन उनीहरुबीच झगडा भएको थियो । क्रुद्ध भएका विजयले नाइलनको डोरीले घाँटी ङ्याँकेर ताराको हत्या गरेको र उनको शव झोलामा हालेर एकान्त ठाउँमा फालेको जनाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Read More

कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते

बोगोटा : कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ । अन्य तस्बिरहरूमा उनी रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा ढलेको र पुरुषहरूको समूहले उनलाई सम्हालेको देखिन्छ । मिडियाका अनुसार संदिग्ध बन्दुकधारी एक किशोरलाई पक्राउ गरिएको छ । महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले काराकोल रेडियोलाई उराइब ‘गहन उपचार कक्षमा’ रहेको बताए । स्थानीय मिडियाका अनुसार कम्तीमा एउटा गोली सिनेटरको घाँटी वा टाउकोमा लागेको छ । वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको ‘स्पष्ट र कडा’ निन्दा गरेको छ । “हिंसाको यो कार्य उनको व्यक्तित्वमाथि मात्र नभएर लोकतन्त्र, विचारको स्वतन्त्रता र कोलम्बियामा राजनीतिको वैधानिक अभ्यासमाथिको आक्रमण हो”, राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ । पेट्रोका कडा आलोचक उराइब डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन् । उनले गत अक्टोबरमा सन् २०२६ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका थिए । – पछाडिबाट गोली प्रहार – उनको पार्टीले शनिबार एक विज्ञप्तिमा एक ‘सशस्त्र व्यक्ति’ ले सिनेटरलाई पछाडिबाट गोली हानेको बताएको छ । “उक्त आक्रमणले एक राजनीतिक नेताको जीवनलाई मात्र खतरामा पार्ने नभएर कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रतालाई पनि खतरामा पार्छ”, पार्टीले भनेको छ । यसैबीच पार्टी नेता एवं कोलम्बियाका प्रभावशाली पूर्वराष्ट्रपति अल्भारो उराइबले गोलीकाण्डलाई ‘देशको आशामाथिको आक्रमण’ भनेका छन्। बोगोटाका मेयर कार्लोस गालानले एक्समा ‘बन्दुकधारीलाई पक्राउ गरिएको’ बताएका छन् । स्थानीय मिडियाका अनुसार १५ वर्षीय केटालाई पक्राउ गरिएको छ र उसैले गोली चलाएको आशङ्का गरिएको छ । महान्यायाधिवक्ता कामार्गोले आफूले ती रिपोर्टहरू देखेको तर जानकारी अझै प्रमाणित हुन बाँकी रहेको बताए । मिगुएल उराइब कोलम्बियामा लामो राजनीतिक परम्परा भएको परिवारका सदस्य हुन् । उनका एक हजुरबुबा कोलम्बियाका पूर्व राष्ट्रपति जुलियो सेजर टर्बे थिए । उनले सन् १९७८ देखि १९८२ सम्म देशको नेतृत्व गरेका थिए । उनकी आमा डायना टर्बे प्रसिद्ध पत्रकार थिइन् । उनलाई कुख्यात ड्रग लर्ड पाब्लो एस्कोबारको नेतृत्वमा रहेको मेडेलिन कार्टेलले अपहरण गरेको थियो । उनी सन् १९९१ मा असफल सैन्य उद्धार अभियानमा मारिएका थिए । उराइब स्वयं सन् २०२२ देखि सिनेटर रहेका छन् । उनले पहिले बोगोटाको सरकारी सचिव र नगर पार्षदका रूपमा सेवा गरेका छन् । उनले सन् २०१९ मा सिटी मेयरका लागि पनि उम्मेदवारी दिएका थिए तर त्यो चुनावमा पराजित भएका थिए । अधिकारीहरूले शनिबारको आक्रमणका पछाडि रहेकाहरूलाई पक्राउ गर्न जानकारी दिनेलाई करिब सात लाख डलर इनाम दिने घोषणा गरेको रक्षामन्त्री पेड्रो सान्चेजले एक्समा भने । रासस

Read More

जलेको अवस्थामा युवतीको शव फेला

रुपन्देहीको समरीमाईमा एक युवती जलेको अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार समरीमाई  गाउँपालिका वडा नडा नम्बर  ५ की २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा मृत फेला परेकी हुन्। शनिबार राति घरमा सुतेकी सिर्जना बिहान पौने २ बजे घर नजिकैको  खेतमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक (एसपी) गणेश सापकोटाले जानकारी दिए। उनका अनुसार  सापकोटाले घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको अवस्थामा फेला परेको र अनुसन्धानको लागि उनका श्रीमानलाई नियन्त्रणमा लिइएको छ।

Read More

अमेरिकाको लस एन्जलसमा तनाव, न्याशनल गार्ड पठाउँदै ट्रम्प

आवश्यक कागजपत्र नभएका आप्रवासी खोज्न छापा मार्ने क्रममा अशान्ति फैलिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लस एन्जलसमा २,००० न्याशनल गार्डहरू तैनाथ गर्ने निर्णय गरेका छन्। ट्रम्पका सीमा मामिला हेर्ने अधिकारी (बोर्डर जार) टम होमनले शनिवार फक्स न्यूजसँग भने, “हामी लस एन्जलसलाई सुरक्षित बनाउँछौँ।” सङ्घीय निकाय इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) का एजेन्टहरूसँग विशेषगरी ल्याटिन अमेरिकी आप्रवासीहरू रहेको बस्तीका मानिसहरूले झडप गरेपछि क्यालिफोर्नियास्थित उक्त सहर शनिवार दोस्रो दिन पनि तनावपूर्ण र अशान्त देखियो। प्यारामाउन्ट जिल्लामा भिडलाई तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरिएको थियो। आईसीईले गरिरहेको कारबाहीका क्रममा एक सातामा लसएन्जलसमा ११८ जनालाई पक्राउ गरिएको छ। त्यसमध्ये शुक्रवार मात्र ४४ जना पक्राउ परेका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले छापा मार्ने कार्यलाई “क्रूर” भन्दै निन्दा गरेका छन्। प्यारामाउन्ट अहिले धेरै हदसम्म शान्त भएको छ तर प्रदर्शनकारीहरू र कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीबीच अझै झडपहरू भइरहेका छन्। त्यहाँको एउटा चर्चित निर्माण सामग्री बिक्री गर्ने चेन स्टोर बाहिर अश्रुग्यास र धुवाँले मुस्लो देखिएको छ। त्यस क्षेत्रमा पहिलो पटक विरोध प्रदर्शन सुरु भएको थियो। उक्त नगरका काउन्टी शेरिफहरूले प्रदर्शनकारीहरूलाई हटाउन प्रयास गर्दा प्रत्येक केही मिनेटमा फ्ल्याश ब्याङ्ग र अश्रुग्यास प्रहार गरिरहेका छन्। छिमेकीहरू र प्रदर्शनकारीहरूका अनुसार कैयौँ आप्रवासीहरूले आफ्नै पसलभित्र आफूहरूलाई बन्द गरेर राखेका छन् र बाहिर निस्कन डराइरहेका छन्।

Read More

प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने भएको छ ।  सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफल पछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आए पनि नआएपछि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने जानकारी दिएका हुन्  । प्रतिपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे विरोधकाबीच संसद् सञ्चालन हुने उनले बताए । घिमिरेले अहिलेसम्म प्रतिपक्षी आफ्नो अडानबाट पछि नहटेको उल्लेख गरे ।   त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघि सूचना टाँस गरी संसद् स्थगित गर्ने काम अव नहुने बताए । उनले सूचना टाँस गरी बैठक स्थगित हुने हिजोको निरन्तरता नहुने भन्दै बजेटमाथिको छलफल आरम्भ हुने, निजामती विधेयक पेस हुने उल्लेख गरे । अब संसदका समग्र प्रक्रिया अघि बढ्ने र यसमा प्रतिपक्षीले सहयोग गर्ने उनले बताए  । छलफलमा सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

Read More

गतिरोध अन्त्य गर्ने साझा रणनीति बनाउन विपक्षी दलहरूको बैठक सुरु

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने साझा रणनीति बनाउन विपक्षी दलहरूको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालको आह्वानमा संसद् भवन नयाँ बानेश्वरस्थित उनको कार्यकक्षमा बैठक जारी छ। पछिल्ला केही दिनदेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। यही गतिरोधका बीच आज बस्ने प्रतिनिधिसभाको बैठकअघि विपक्षीहरू साझा धारणा बनाउन छलफलमा जुटेका हुन्। बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्‌मा प्रतिनिधित्व गर्ने विभिन्न प्रतिपक्षी दलका नेताहरूको उपस्थिति रहेको छ। छलफलमा सदनको अवरोधलाई कसरी अगाडि बढाउने, सरकारसँग वार्ताको सम्भावना र आफ्नो माग पूरा गराउन अपनाउन सकिने थप रणनीतिका विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।

Read More

संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुख असन्तुष्ट

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दलहरूसँग असन्तुष्ट बनेका छन् । पटक-पटकको छलफलबाट पनि दलहरु संसदको अवरोध हटाउन सहमत नभएपछि सभामुख घिमिरले असन्तुष्टि व्यक्त गरेका हुन् । यही जेठ १५ गते बजेट भाषण भएपछि संसद बैठक बस्न सकेको छैन । त्यसयता प्रमुख प्रतिपछि दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने र राजीनामा दिनु पर्ने भन्दै संसद अवरुद्ध गरेका छन् । प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि सभामुखले हरेक दिनजसो बैठक सारेर छलफल चलाएका छन् । तर, बैठकमा सत्ता र प्रतिपक्ष दुवैले अडान कायम राख्दा संसद बैठक अनिश्चित भइरहेको छ । सभामुख घिमिरेले आज पनि प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका श्याम घिमिरेसँग छलफल गरेका छन् । छलफलका क्रममा घिमिरेले निकास नदिएको भन्दै असन्तुष्टि जनाएको उनको सचिवालयले जनाएको छ । संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्नसमेत आग्रह गरे । बैठकमा माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए । सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याए ।

Read More

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट चाहिने व्यवस्था हटाइयो

२५ जेठ, काठमाडौं । फाइनान्सियल टास्क फोर्स (एफटीएफ)’ को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन भएको छ । घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य चाहिने गरी २० जेठमा विभागले निर्देशन ल्याएकोमा आइतबार त्यसलाई संशोधन गरी अत्यन्तै लचिलो बनाइएको हो । संशोधित व्यवस्थाअनुसार अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट चाहिने छैन । बैंक स्टेटमेन्टसम्बन्धी व्यवस्था नै निर्देशनबाट हटाइएको छ । खरिदकर्ता, बिक्रीकर्ता तथा एजेन्ट कम्पनीका सञ्चालकले अनिवार्य रुपमा केवाईसी फाराम भर्नुपर्ने व्यवस्था पनि निर्देशनले हटाएको छ । यसअघि घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने व्यवस्था थियो । यसका साथै, यसअघि १० लाखभन्दा माथिको ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रुपमा बैंकिङ प्रणाली वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो । त्यस्तै ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै वा चेकमार्फत गर्दा विक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसमा पनि नयाँ संशोधनले लचक व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार १० लाख रुपैयाँभन्दा माथिको कारोबारको जुनसुकै प्रकाणको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी सोको प्रमाण र ५० लाख रुपैयाँभन्दा माथिका घरजग्गा खरिद गर्दा क्रेताले बैंकबाट भुक्तानीका लागि गुड फर पेमेन्ट चेक वा बैंक ग्यारेन्टी वा ईपेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणमार्फत भुक्तानी भएको प्रमाण वा बिक्रेताको खातामा नगद जम्मा गरेको बैंक भौचरको फोटोकपी खरिदकर्ता वा बिक्रीकर्ता दुवैले प्रमाणित गरी पेश गर्नुपर्ने छ भन्ने व्यवस्था गरिएको छ । त्यस्तै, यसअघि बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयका हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद–बिक्री कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन बापत शुल्क र दस्तुर तथा विक्रीकर्ताले तिर्नुपर्ने लाभकर खाताबाट तिर्नुपर्ने व्यवस्था रहेकोमा त्यो पनि हटाइएको छ । यसअघि बैनाबट्टाको कारोबारको बैंक स्टेटमेन्ट पनि अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिएकोमा त्यो पनि हटाइएको छ । यसअघि घरजग्गा खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा त्यसभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था गरिएको थियो । यो सीमालाई भने एक करोडमा झारिएको छ ।

Read More

धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई बिचौलियाको फन्दामा नपर्न, इन्साइडर ट्रेडिङ रोक्न, नियामकको भूमिका सशक्त बनाउन र नयाँ वित्तीय उपकरणहरू ल्याउन सुझाव दिएका छन् । आइतबार नेपाल धितोपत्र बोर्डको ३३औँ वार्षिकोत्सवमा अर्थमन्त्री पौडेलले पूँजीबजार अर्थतन्त्रको ऐना भएको बताउँदै लगानीकर्ताका लागि ढुक्कले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्न बोर्डलाई आग्रह गरेका  हुन् । हालैका दिनमा बोर्डभित्र अनियमित गतिविधि र अध्यक्ष श्रेष्ठमाथि नै जलविद्युत कम्पनीको आईपीओ स्वीकृतमा पैसा मागेको लगायतका आरोपहरू सार्वजनिक भइरहेका बेला अर्थमन्त्री पौडेलको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले सार्वजनिक कार्यक्रममै अध्यक्ष श्रेष्ठलाई स्पष्ट शब्दमा ‘बोर्डमा हुने गरेको अवाञ्छित गतिविधि रोक्न’ निर्देशन दिए । अर्थमन्त्री पौडेलले अध्यक्ष श्रेष्ठलाई बिचौलियाको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न सुझाव दिए । बोर्डलाई प्रभाव र दबाबमा पार्ने धेरै हुने भएकाले त्यसबाट माथि उठेर काम गर्नुपर्ने उनको भनाई थियो । पूँजीबजारमा हुने विभिन्न टीकाटिप्पणी, इन्साइडर ट्रेडिङ र अपारदर्शी कामहरूलाई रोक्न विशेष ध्यान दिन उनले आग्रह गरे । नीतिगत प्रक्रियामा पनि पारदर्शिता अपनाउनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो। समय व्यतीत मात्रै नगरी धितोपत्र बोर्डको नियामकिय भूमिका बलियो बनाउनुपर्नेमा अर्थमन्त्रीले जोड दिनुभयो । अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट पूँजीबजारका नियामकसरह सेबोनले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो । उनले अध्यक्ष श्रेष्ठलाई ‘हात बाँधेर नबस्न’ र केही काम गरेर देखाउन आग्रह गरे । अर्थमन्त्री पौडेलले गल्ती नगर्न र गल्ती गर्नेलाई कारबाही गर्न पछि नहट्न सुझाव दिए । उनले भने, ‘धितोपत्रको भूमिकालाई गुणात्मक रूपमा बढाउन खोजिएको छ, गल्ती गर्न दिनु हुँदैन, गल्ती गर्नेलाई कारबाही गर्न पनि पछाडि हट्नु हुँदैन, राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्छ ।’ सबै लगानीकर्ताले ढुक्क भएर काम गर्ने वातावरण बनाउन र पूँजीबजारमा नयाँ उपकरणहरू भित्र्याउन बोर्डले काम गर्नुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री पौडेलले पूँजीबजार अर्थतन्त्रको ऐना भएको बताउँदै यसको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्न सकिने बताए । आगामी आर्थिक वर्षको बजेट वक्तव्यबाट पूँजीबजारप्रति सरकारको धारणा स्पष्ट पारिएको र पूँजीबजारको पुनर्संरचनाका लागि विशेष कार्ययोजना सार्वजनिक गरिएको उनको भनाइ छ । नेप्सेको पुनर्संरचना पनि हुने र पूँजीबजारको दिगो विकास सरकारको प्राथमिकता रहेको उनले स्पष्ट पारे । साना लगानीकर्ताको हितलाई विशेष ध्यान दिन पनि उनले बोर्डलाई निर्देशन दिए ।

Read More
Back To Top