तीनकुनेमा भएको घटनाको आज ९औं दिन पनि थुनछेक बहस आज पनि जारी

२९ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी छ । काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो ।आज ९औं दिन पनि थुनछेक बहस चलिरहेको हो । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । ११ जेठमा दायर भएको मुद्दाको १८ दिन बित्दा पनि आदेश आउन सकेको छैन । तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो । नीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ । ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको छ ।

Read More

सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिए

काठमाडौँ । सरकारको बजेटप्रति आपत्ति जनाउँदै व्यवसायी आन्दोलनमा उत्रिएपछि आज देशैभरका सुनचाँदी पसल बन्द छन् ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् । सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए ।  सरकारले  बजेटमार्फत सुनमा विलासिता कर लगाएको र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ । सरकारको यो  निर्णयले सुनचाँदी व्यवसाय नै सङ्कटमा पर्ने देखिएको व्यवसायीको आरोप छ । सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् ।

Read More

काठमाडौँ महानगरपालिकाको लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् । बुधबार काठमाडौँ प्लाजामा उपमेयर सुनिता डङ्गोलसहित तीन जना वडाअध्यक्षहरुसँग छलफल गरेको खुलेको छ । उक्त बैठकपछि मेयर साह महानगरपालिकाको कार्यपालिका बैठक र नगर सभा बोलाउने सहमतिमा पुगेका छन् । उपमेयर डङ्गोलसहित तीन वडा अध्यक्षसँगको छलफलपछि मेयर साह कार्यपालिका बैठक र नगर सभा बोलाउन तयार भएका छन्। छलफलमा वडा– १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र वडा– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सहभागी थिए। वडा– १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले मेयर साहसँग कार्यपालिका बैठक र महानगरका नियमित कामको विषयमा छलफल भएको बताए । उनले मेयर साहसँगको भेट नियमित भएको उल्लेख गर्दै मेयर साहले चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्न सहमत भएको जनाकारी दिए । उनले उपमेयर सहितको बैठकमा चाँडै बैठक बोलाउने आशा रहेको बताए । उनले भने, ‘उपमेयर सहितको छलफल भएको छ । मेयर साहसँगको भेटघाट नियमित हो । तर चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्ने आशा छ ।’ काठमाडौँ महानगर कार्यपालिकाको बैठक गत पुस १४ गतेयता बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा मेयर एक पक्ष र उपमेयर डङ्गोल तथा वडा अध्यक्ष एकै ठाउँमा आउँदा थप समस्या बढ्दै गएको थियो । विवाद सिर्जना भएसँगै मेयरको उपमेयरसँग करिब अढाई महिनासम्म बोलचाल समेत भएको थिएन ।

Read More

संसद् खुलाउन माओवादीको दुईबुँदे ड्राफ्ट : सत्तापक्ष सहमत, रास्वपा असहमत

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुई बुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको बताए । उनले त्यसमा आफुहरु सहमत रहेको समेत बताए । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफुहरुको सहमति रहेपनि रास्वपाको असहमति देखिएको उल्लेख गरे ।  यस्तै रास्वपाले ल्याएको अर्को ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए । भट्टराईले प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेकाले बुधबारको सदन स्थगित गरेर बिहीबार तीन बजेका लागि बोलाइएको जिकिर गरे ।

Read More

सदनको जारी गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलका नेताहरू छलफलमा

काठमाडौं । सदनको जारी गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमेरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैला, नेकपा माओवादी केन्द्रमा नेता वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र नेता विराजभक्त श्रेष्ठलगायत नेताहरू अहिले छलफलमा जुटेका छन् । मुख सचेतकहरूको बैठकमा सहमति जुट्न नसकेपछि अन्य नेता पनि छलफलमा जुटेका हुन् ।  जेठ १३ गतेदेखि प्रतिपक्षी दलले संसद् बैठक अवरोध गर्दै आएका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विरुद्ध दायर गरेको अवहेलना मुद्दामा असार ८ गते सुनुवाइ हुने

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विरुद्ध दायर गरेको अवहेलना मुद्दामा असार ८ गते सुनुवाइको मिति तोक्दै अग्राधिकार प्रदान गरेको छ । गत आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्रीसहित चार मन्त्रीलाई पदमुक्त गरी भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गर्न मागसहितको रिट दायर भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार प्रधानमन्त्री  ओली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र वनमन्त्री ऐनबहादुर शाही ठकुरीविरुद्ध रिट दायर गरेका थिए । आगामी आवको बजेटमा खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासी गर्न निजी क्षेत्रलाई सहभागी गराइने व्यवस्था गरिएको छ । बजेटको ८७ नम्बर बुँदामा गरिएको यस्तो व्यवस्थाले अदालतको अवहेलना गरेको दाबी रिटमा गरिएको छ । यसअघि पौडेलले नै ल्याएको २०७८–७९ को बजेटमा पनि खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासी गर्ने व्यवस्था गरिएको थियो ।  उक्त व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट परेकोमा अदालतले खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासीसम्बन्धी उक्त वर्षको बजेटको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न परमादेशको आदेश जारी गरेको थियो । र अदालतको अवहेलना गर्दै पुनः सोही व्यवस्था बजेटमा गरेकाले उक्त व्यवस्था कार्यान्वयनमा रोक लगाउन, उनीहरूलाई भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषणा गर्न र २४ घण्टाभित्र अदालतमा उपस्थित गराइ तत्काल बयान गराइ न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम  एक  वर्ष कैद र दश हजार जरिवाना सजाय गर्न माग गरिएको छ ।

Read More

डिएसपी हुँ भन्दै ६ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै ६ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भइ हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। ‘नेपाल प्रहरीको डिएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर ६ लाख ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरुलाई पक्राउ गरिएको हो,’ उनले भने। पक्राउ परेकामध्ये ज्ञानबहादुर विसं २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र विसं २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको खुल्नमा आएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बोहराले बताए।

Read More

महासंघले भन्यो– समाचार हटाउन लगाउने अदालतको आदेश संविधानविपरीत

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार हटाउन लगाउने काठमाडौं जिल्ला अदालतको आदेश संविधानविपरीत भएको निष्कर्ष निकालेको छ । आज एक प्रेस विज्ञप्तिमार्फत महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार नजरअन्दाज गरेर अदालतले दिएको आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र संविधानविपरीत रहेको जनाएको हो । “संविधानले प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’को प्रत्याभूत गरेको छ । प्रेस स्वतन्त्रताको यो संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न सक्दैन,” महासंघले भनेको छ ।महासंघले आदेशमा पुनर्विचार गर्न पनि आग्रह गरेको छ । अन्यथा त्यसविरुद्ध अदालती प्रक्रियासहित अन्य गतिविधि गर्न बाध्य हुने महासंघको भनाइ छ । काठमाडौं जिल्ला अदालतले मंगलबार नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित एउटा समाचारलाई हटाउन आदेश दिएको थियो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनमा अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले तत्काल समाचार हटाउन भनेको थियो ।

Read More

नेपालगन्जमा दुई हजार दुई सय करदाता निलम्बन

नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्य अभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरूलाई निलम्बन गरिएको जानकारी दिए । विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोबार पनि रोक्का गरिएको छ’, उनले भने । आन्तरिक राजस्व विभागले छ महिनादेखि लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका करदातालाई निलम्बन गर्दै आएको छ । बाँकेमा आठ हजारभन्दा बढी मूल्य अभिवृद्धिमा आबद्ध करदाता रहेका छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिए । उनले  यसअघि कानुन अस्पष्ट हुँदा यस्तो कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने स्पष्ट पारे । निलम्बन भएका फार्मसँग कुनै कारोबार गर्नहुँदैन, यसले कारोबार गर्नेलाई पनि समस्या हुन्छ’, उनले भने । यसअघि विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेको थियो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो ।

Read More

आज या भोलि संसद अवरोध हट्छ : प्रवक्ता गुरुङ

२८ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज–भोलि नै संसद्‌को अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको उनले जानकारी दिए । आज मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘बढीमा संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भइराख्या छ । हाम्रो चाहिँ के हो भने मन्त्रीले यी सबै उठिरहेका विषयबारे संसद्‌मा आफ्नो धारणा राख्ने, सरकारको धारणा राख्ने अनि प्रतिपक्षीहरुले संसद खोलेर सहयोग गर्ने र बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउने कुरा हामीले गरिराख्या छौं,’ उनले थपे, ‘सम्भवतः आज या भोलिसम्ममा कुरा मिल्छ होला भन्ने यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।’ उनले सानोतिनो कुरा उठाएर राजनीतिलाई अप्ठ्यारो पार्नु हुँदैन भन्ने कुरालाई बुझ्नुपर्ने पनि बताए ।

Read More
Back To Top