दुर्गा प्रसाईलाई पठाइयाे डिल्ली बजार कारागार

मेकिल व्यावसायी दुर्गा प्रसाईलाई क्यान्सर उपचारको क्रममा अस्पताल पठाउने भनिए पनि अहिले भने डिल्ली बजार कारागारमा पठाइएको छ। चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनको क्रममा पक्राउ परेका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा पठाइएको हो।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई थुनामा पठाउन आदेश गरेका थिए। तर प्रसाईको हकमा क्यान्सरको उपचार गर्ने वातावरण बनाउन समेत आदेश दिइएको थियो। अदालतको आदेशअनुसार, प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ।

Read More

इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न दूतावासको आग्रह

काठमाडौं । इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षामा विशेष ध्यान आग्रह गरेको छ । शुक्रबार बिहान इजरायलले इरानमा हवाई र ड्रोन आक्रमण गरेपछि तेलअविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै उक्त अनुरोध गरेको हो । “यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन आग्रह गरिन्छ,” नेपाली दूतावासले भनेको छ, “उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थल आसपासमै रहन अनुरोध गर्दछौँ ।” इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोल्फजल शेखरचीले इरानले इजरायली हमलाको प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले अमेरिकाले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि अमेरिका र इजरायल दुवैका लागि यो आक्रमण महँगो पर्ने चेतावनी दिएका छन् । इजरायलले ‘अपरेसन राइजिङ लायन’नामक सैन्य अभियान सञ्चालन गरेपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्डका कमान्डर–इन–चिफ जनरल हुसेन सलामी र इरानका सर्वोच्च तहका सैन्य अधिकारी मेजर जनरल मोहम्मद बागेरी पनि मारिएका छन् । सलामी देशका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक थिए । इरानको नाटान्ज युरेनियम विकास संरचना, परमाणु वैज्ञानिक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको केन्द्रलक्षित आक्रमण गरेको छ । यो अभियान इरानले आणविक हतियार विकास गर्ने प्रयासलाई रोक्ने उद्देश्यले गरिएको बताइएको छ ।

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।  चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेर उनीहरू फरार रहेका छन् । उनीहरू अदालतमा बयानका लागि पनि उपस्थित भएका थिएनन् ।  मिश्र र राणा सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराएका थिए । बिहीबार अदालतबाट जारी दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेशको पूर्ण पाठमा मिश्र र राणाबारे केही उल्लेख गरिएको छैन ।  ‘अभियोग दर्ता भएको दिन स्रेस्तेदारबाट नै उपस्थित गराइएका प्रतिवादीहरूलाई बयानको लागि इजलास समक्ष पेस गर्नु र अनुपस्थित रहेका र फरार प्रतिवादीहरूको हकमा कानुन बमोजिमको पक्राउ पुर्जी जारी गर्नु भनेर आदेश जारी भएको थियो,’ श्रोतले भन्यो । मिसिल अहिलेसम्म बयान र थुनछेकको लागि व्यस्त रहेकोले पक्राउ पुर्जी जारी हुन नसकेको स्रोतको भनाइ छ । फाँटले पुर्जी जारीको प्रक्रिया अघि बढाइसकेको छ ।

Read More

दुर्गा प्रसाईंको बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन

विशेष सरकारी वकिलको कार्यालयले दुर्गा प्रसाईंको बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएको छ। बिहीबार सरकारी वकिलले सिआइबीलाई थप निर्देशनसहित फिर्ता पठाएको सूचना अधिकारी एवं सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले जानकारी दिइन्। सिआइबीले बैंकिङ कसुरसम्बन्धी अनुसन्धान सकेर जेठ दोस्रो साता नै अभियोजनका लागि विशेष सरकारी वकिल कार्यालयमा पठाएको थियो। अभियोजन गरेर थप अनुसन्धान गर्नुपर्ने आवश्यकता भएपछि सिआइबीलाई फिर्ता गरिएको हो। ‘हिजो निर्देशनहरू सहित फिर्ता पठाएको छ,’ सहायक न्यायाधिवक्ता पोख्रेलले भनिन्। सिआइबी प्रवक्ता एसपी युवराज खड्काले पनि सरकारी वकिलबाट फिर्ता आएको बताए। उनले यसबारे सरकारी वकिलबाट प्राप्‍त निर्देशन अनुसार अनुसन्धान अधिकारीले थप प्रक्रिया अघि बढाउने बताए। ‘फाइल आएको छ। सरकारी वकिलबाट प्राप्त निर्देशनलाई हेरेर अनुसन्धान अधिकारीले काम गर्नेछ,’ उनले भने। के निर्देशन प्राप्त भएको भन्‍नेबारे उनीहरूले खुलाएनन्। प्रसाईंमाथि एउटा कामको लागि बैंकबाट ऋण लिएर अर्कै ठाउँमा खर्च गरेको आरोप छ। नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न सिआइबीलाई गत माघ २३ गते पत्राचार गरेको थियो। त्‍यसयता सिआइबीले अनुसन्धान गर्दै आएको थियो। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि चैत २९ गते प्रसाईं भारतबाट पक्राउ परेका थिए। बिहीबार मध्यराति जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको हो।  सिआइबीले बैंकिङ कसुरमा अनुसन्धान गर्दा प्रसाईंले ९ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न मितिमा ऋण लिएको खुलेको थियो। उनले गत असोज मसान्तसम्म सात अर्ब २५ करोड ८७ लाख रुपैयाँ ऋण लिएको खुलेको थियो। जसमध्येबाट २७ करोड भन्दा बढी रकम भने राउण्ड ट्रिपिङ गरेको अर्थात गलत कारोबार देखाएको सिआइबीको निष्कर्ष थियो। प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपासी पक्षसँगै कारोबार (रिलेटेड पार्टी ट्रान्जाक्सन) लगायतका शंकास्पद कारोबार गरेको आरोप छ। विगत चार वर्षदेखि बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिलाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघेर कर्जाको बक्यौता साँवा-व्याज भुक्तानी नियमित नभएको पनि प्रहरीको अनुसन्धानमा देखिएको थियो। कतिपय परियोजनाको लागतलाई वृद्धि गरी आवश्यक पर्नेभन्दा बढी कर्जाको प्रयोग समेतको आरोप प्रसाईंमाथि छ। अनुसन्धानबाट तत्कालीन एनसिसी बैंक (हाल कुमारी बैंक) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख रुपैयाँ प्रवाह भएको देखिएको छ। नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडबाट होटल एट्रियम प्रालिको नाममा ५ करोड र गुडविल फाइनान्स लिमिटेडबाट युए मेडिको सप्लाइज एन्ड इक्युपमेन्ट प्रालिको नाममा १० करोडको ऋण प्रवाह भएको अनुसन्धानबाट खुलेको हो। ऋणको दुरूपयोग गरेको भन्दै अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान गरी कारबाही गर्न भन्दै गत माघ २३ गते सिआइबीमा पत्राचार गरेको थियो। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ दफा ८ मा कर्जाको दुरूपयोग गर्न नहुने भन्ने व्यवस्था छ। प्रसाईंले यही व्यवस्थाको उल्लंघन गरेको सिआइबीको भनाइ छ। ‘कसैले पनि बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जाको सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरूपयोग गर्नु वा गराउनु हुँदैन,’ उक्त कसुरमा भनिएको छ। यस कसुरअनुसार उनीविरूद्ध जति बिगो रकम कायम हुन्छ त्यही अनुसार कैद सजाय हुने व्यवस्था छ। उनलाई तोकिएको बिगो जफत गर्ने, त्यस अनुसारकै जरिवाना र कैद हुने व्यवस्था ऐनमा उल्लेख छ। सिआइबीले प्रसाईंसँग कति बिगो रकम कायम गर्छ भन्ने खुलिसकेको छैन। यदि बिगो रकम एक अर्बभन्दा बढी जतिसुकै रुपैयाँ भए पनि १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गरी सिआइबीले मुद्दा दायर गर्न सक्ने प्रावधान ऐनमा छ। त्यस्तै ५० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भएमा ८ वर्षदेखि १० वर्षसम्म कैद माग गर्न सक्ने व्यवस्था उल्लेख छ। १० करोड रुपैयाँभन्दा बढी ५० करोड रुपैयाँसम्म बिगो भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैद माग गरी सिआइबीले मुद्दा लैजानेछ।

Read More

एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

३० जेठ, काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार फुकेट एयरपोर्टबाट भारतीय समय अनुसार आज बिहान साढे ९ बजे (स्थानीय समय अनुसार दिउँसो साढे २ बजे) सो विमान उडेको थियो । तर अण्डमान सागर माथि आइपुगेका बेला सो विमान फर्किएर फुकेट विमानस्थलमै अवतरण गरेको थियो । विमान सुरक्षित अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको रोयटर्सले जनाएको छ ।

Read More

इसराइली आक्रमणको जबाफ दिने – आयतोल्लाह अल खामेनी

इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले इसराइली आक्रमणको जबाफ दिने बताएका छन्।  शुक्रबार बिहान इसराइलले इरानमाथि ब्यालिस्टिक मिसाइल र ड्रोन हमला गरेपछि खामेनीले त्यसको जबाफ दिने बताएका हुन्। उनले इरानले दिने जबाफ कडा र कठोर हुने चेतावनी दिएका छन्। ‘यो अपराधका साथ यहूदी शासकले आफूलाई तीतो र पीडादायी भाग्यको लागि तयार पारेको छ र उसले यसको परिणाम भोग्ने निश्चित छ,’ खामेनीले भनेका छन्। इरानमा आक्रमण  गरेपछि इसराइलले देशभरि आपतकाल घोषणा गरेको छ। इसराइलले इरानको सम्भावित जबाफको पूर्वतयारीस्वरूप देशव्यापी आपतकाल घोषणा गरेको हो। विद्यालय बन्ददेखि अस्पतालमा समेत बहिरंगबाहेकका सेवा बन्द गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ भने भेला गर्न पनि रोक लगाइएको छ। साथै सेनालाई पनि तयार रहन भनिएको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इसराइलमाथि सुरक्षा चुनौती देखिएका कारण हमला गरिएको भनेका छन्। उनले इरानी आणविक भट्टी र हतियार कारखाना नष्ट नपारून्जेल आक्रमण जारी रहने पनि बताएका छन्। इरानमा आक्रमण गर्नुअघि प्रधानमन्त्री नेतन्याहूले आफ्नो मुख्य सहयोगी अमेरिकासँग परामर्श गरेका थिए।  अमेरिकालाई जानकारी गराएपछि इसराइलले इरानी आणविक भट्टी, हतियार कारखाना, आणविक हतियार उत्पादनमा खटिएका वैज्ञानिक र सैनिक उच्च अधिकारीहरूलाई लक्ष्य गरेर आक्रमण गरेको हो। इसराइलको आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का प्रमुख मेजर जनरल हुसेन सलामीको मारिएका छन्। उनीसँगै सेनाका अरू तीन प्रमुख अधिकारी पनि मारिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  हुसेनलाई सर्वोच्च नेता खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए। इसराइलले आइआरजिसीको मुख्यालयमै हवाई आक्रमण गरेको बताइएको छ। सोही आक्रमणमा उनको मृत्यु भएको बताइएको छ। इसराइलले इरानमाथि आक्रमण गरेपछि  संयुक्त राज्य अमेरिकाले  पनि इरानलाई चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्। उनले इसराइलले इरानमा गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन्। ‘इरानमाथि इसराइलले गरेको आक्रमणमा हाम्रो संलग्नता छैन। मध्यपूर्वमा रहेका हाम्रा सैनिकहरूको रक्षा हाम्रो पहिलो दायित्व हो। इरानले जबाफी हमलाको रूपमा हाम्रा सैनिक शिविरमा आक्रमण नगरोस्,’ रूबिओले भनेका छन्। उनले इरानमाथि आक्रमण जरूरी रहेको भनेर इसराइलले बताएको भनेका छन्। ‘इसराइलले आत्मरक्षाका लागि इरानमाथिको आक्रमण जरूरी भइसकेको बताएको छ,’ विदेशमन्त्री रूबिओले भनेका छन्। यसअघि इरानले गत असोजमा इसराइलमाथि मिसाइल र ड्रोन हमला गरेको थियो। इसराइलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव बढ्ने खतरा उत्पन्न भएको छ।

Read More

भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को छानबिन समिति गठन गर्ने पक्षमा सबै प्रतिपक्षी दलहरू एकमत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को संगठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा संघीय सदनमा रहेका सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ। मंगलबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार, भिजिट भिसाको दुरुपयोग गरी नेपाली नागरिकलाई विदेशमा लगेर अलपत्र पार्ने र शोषण गर्ने गम्भीर विषयलाई सदाका लागि निराकरण गर्न सबै प्रतिपक्षी दलहरू साझा धारणामा पुगेका छन्। कार्यवाहक प्रवक्ता झाले भने, ‘आजको पहिलो चरणको बैठकको निष्कर्ष: हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ।’ लामो समयदेखि नेपालमा भिजिट भिसाको आवरणमा मानव तस्करीको संगठित सञ्जाल सक्रिय रहेको र यसमा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नताको आशंका गरिँदै आएको छ। प्रतिपक्षी दलहरूको यो साझा ऐक्यबद्धताले अब संसदमा सरकारमाथि थप दबाब सिर्जना गर्ने देखिन्छ।

Read More

सभामुखले प्रचण्डलाई सदन खुलाउन नेतृत्व गरिदिन गरे आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनको अवरोध खुलाउने विषयमा विपक्षी दलमा ‘मिलाउने’ आश्वासन दिएका छन् । बिहीबार सभामुख देवराज घिमिरेसँगको भेटमा प्रण्डले आजै निष्कर्षमा पुग्ने बताएको सभामुखको सचिवालयले जनाएको छ । “रास्वपासँग भाषाको कुरा मिलाउँछौँ । सत्तापक्षसँग पनि आजै बस्छौँ, आजै निष्कर्षमा पुग्छौँ । म गम्भीर छु,” प्रचण्डको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयका शेखर अधिकारीले भने । सभामुखले प्रचण्डलाई सदन खुलाउन नेतृत्व गरिदिन आग्रह गरेका थिए । “बजेटको सेड्युअल प्रभावित भएको छ । राष्ट्रियसभामा पठाउन समयको चाप बढ्यो । सदन खुलाउन नेतृत्व लिइदिनुस्,” सभामुखले प्रचण्डलाई भनेका थिए ।

Read More

भारतको अहमदाबादमा विमान दुर्घटना

काठमाडौँ — भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडेको २ मिनेटमै दुर्घटनामा परेको छ । भारतिय समय अनुसार १ बजेर ४० मिनेटमा उक्त  विमान दुर्घटनामा परेको हो। प्रारम्भिक सूचना अनुसार टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो । सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो । सूचना अनुसार विमानमा  १६९ भारतिय, ५३ ब्रिटेन, ७ पोर्चुगल र १ क्यानडाका नागरिक गरि जम्मा  २३० यात्रु का साथै दुई पाईलट सहित १२ क्रु मेम्बर लगाएत २४२ जना सवार थिए  । अहिले उद्दार कार्य जारि रहेको र उक़्त घटना बारे आधिकारिक विवरण आइसकेको छैन ।

Read More

जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छाैँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर बजेट आएको हो- अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरू अघि बढाइएको बताएका छन् । बिहीबार काठमाडौँमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरू किन खोजी किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताए । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छाैँ ? कसरी सम्भावना देशभित्रै खोजी गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको दाबी गरे । उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताए । उनले नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गरे । प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गर्ने बताए ।

Read More
Back To Top