गृह मन्त्रालयमा नीतिगत सुधारका काम गर्दैछु-रमेश लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा सुधारका लागि काम गरिरहेको बताएका छन् । आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू थालिसकेको पनि जवाफ दिएका छन् । संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । आफूले गृह मन्त्रालयको नेतृत्व लिएको ११ महिना पूरा हुन लाग्दा थुप्रै नीतिगत सुधारका काम गरेको जिकिर लेखकले बैठकमा गरेका छन् । ‘यो सरकार गठन भएको ११ महिना भएको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ’, उनले भने, ’मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको छु ।’

Read More

पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी

वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, उजुरीकर्ता देउवापुत्र जयवीर बरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले समाचार प्रकाशनको विषयलाई लिइएर दिइएको उजुरीको आधारमा अदालतबाट पत्रकार पाठकविरुद्ध सुटुक्क उजुरी लिएर पक्राउ पुर्जी लिएको हो। पत्रकार पाठकले काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर देउवाको विषयमा प्रकाशन गरेको समाचारको आधारमा साइबर क्राइममा उजुरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिइएको छ। पत्रकार पाठकविरुद्ध देउवापुत्र जयविरले नै उजुरी दिएको बुझिएको छ।

Read More

विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने

काठमाडौँ । विपक्षी दलहरूले सत्ता पक्षसमक्ष प्रस्ताव गरेको ड्राफ्टमा सहमति नभएसम्म संसद्को अवरोध जारी राख्ने अडान कायमै राखेका छन् । सोमबार विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियार अनुसन्धान आयोगले थालेको छानबिनलाई सहयोग गर्ने गरी २०६४ सालदेखि अहिलेसम्म भएका गतिविधिबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर सत्तापक्षले बुधबारसम्म कुनै जवाफ नदिएकाले आजको बैठक पनि चल्न नदिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । यद्यपि समस्याको समाधानका लागि विपक्षी दलहरूबिच छलफल भइरहेको उनले जानकारी दिए । ‘यथास्थितिमा संसद् चल्न सक्दैन । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव सत्तापक्षसँग राखेका छौँ । त्यसको जवाफ आएको छैन । समस्या समाधानका लागि आपसमा छलफल भइरहेको छ’, पाण्डेले भने । यसअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठेकाले राजीनामा दिनुपर्ने अडानबाट पछि हटेका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को अवरोध हटाउनका लागि सत्तापक्षसँग ५ बुँदे  प्रस्ताव पठाएको थियो । कांग्रेससँगको छलफलपछि रास्वपाले संसद्को अवरोध हटाउन ड्राफ्ट पठाएको थियो ।

Read More

सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको तयारीमा जुटेका छन् । मंगलबार प्रधानन्यायाधीश राउत र न्याय परिषद्की सदस्य न्यायाधीश सपना प्रधान मल्ल समेत इजलासमा नबसी अनौपचारिक छलफलमा जुटेका छन् । अनौपचारिक छलफलपश्चात् साेमबार औपचारिक बैठकको तयारी रहेको न्याय परिषद् स्रोतले जनाएको छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेकोमा चार न्यायाधीश रिक्त छन् । २०८१ कात्तिक ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नृपध्वज निरौला र नित्यानन्द पाण्डे न्यायाधीश नियुक्त भएकोमा त्यसयता पटक पटक बैठक बसे पनि सिफारिस हुन सकेको छैन । न्याय परिषद्का पाँच सदस्यमध्ये एक सदस्य रामप्रसाद भण्डारीको आगामी असार ९ गते कार्यकाल सकिँदै छ । त्यसअगावै सर्वोच्चसहित जिल्ला र उच्चका न्यायाधीश नियुक्तिको तयारी छ । सर्वोच्चसहित जिल्ला र उच्चमा हाल ३३ न्यायाधीश रिक्त छन् । सर्वोच्चमा एक इजलास थपिने गरी तत्काल दुई जना न्यायाधीश भए पनि नियुक्त गर्ने मनस्थितिमा प्रधानन्यायाधीश छन् । तर परिषद्मा सहमति जुट्न नसक्दा नियुक्तिका लागि सिफारिस हुन सकेको छैन । सर्वोच्चमा दुई जना मुख्य न्यायाधीशलाई बढुवा गरेर पदपूर्ति गर्ने र दुई जना कानुन व्यवसायीबाट पदपूर्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

Read More

आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ -चित्रबहादुर केसी

२७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएका छन् । मंगलबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? भन्दै प्रश्नसमेत गरे । पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने उनको भनाइ थियो । आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो । गैह्रआवासीय नेपालीहरुको समस्या र धेरै कुराहरू सुनियो । उपदेश पनि धेरै सुनिरहेको छ,’ उनले भने, ‘उनीहरू यहाँ आउन पाउने र उनीहरूलाई वंशजको नागरिकता दिने हो भने देश स्वीट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो । पैसा कमाएका कारणले नागरिकता पाइन्छ ? वंशजको नागरिकता पाइन्छ ? त्यसो भए त धेरैले लिन्थे नि ।’ गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको बताउँदै उनले ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने बताए । ‘गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकारको कुरा छ, त्यसले उहाँहरूलाई पुगेको छैन । त्यस्तो हुन्छ । ब्रिटिश गोरखाको पनि त्यही छ । उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ,’ केसीले भने, ‘दुईतिर नागरिकता लिन पाइन्छ ? संसदमा भोटिङ हुनुपर्छ यसबारेमा । मेरो एउटै भोट पर्ला फरक पर्दैन । विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ ।’

Read More

नागरिकतासम्बन्धी विधेयकलाई छिटो पारित गरौँः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकतासम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन्।  मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ। छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकतासम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताए। तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताए।  संवेदनशीलताको नाममा सदैव जटिलतामा नागरिकलाई पारिरहने काम गर्न नहुने उनले बताए। उनले भने, ‘यो ऐनबाट सरकारले जे कुरा एड्रेस गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिऊँ। ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरूरी छ। त्यो भएन भने भावना हामी राख्दै गर्ने, तत्काल निर्णय गर्नसक्ने कुराहरू पनि ल्याएर जोडेर एकैचोटि सबै गर्छौं भन्दा केही पनि नहुने हुन्छ। हामी उदार पनि बनौँ, संवेदनशीलतालाई असर पर्नेगरी पनि नजाऔँ। संवेदनशीलताको नाममा सदैव जटिलतामा हामी घुमिरहने, नागरिकले सधैँ दुःख पाइरहने काम गर्नु हुँदैन। कहीँ न कहीँ ब्रेक थ्रु गर्नुपर्छ।’ उपसभापति खड्काले एनआरएनएका लागि पनि नागरिकता सम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरे।

Read More

गोक्यो ताल क्षेत्रबाट चिनियाँ नागरिकको उद्धार

सोलुखुम्बुस्थित गोक्यो ताल क्षेत्रबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ। नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो ताल क्षेत्रमा रहेको एक होटलबाट चिनियाँ नागरिकको उद्धार गरी काठमाडौं ल्याएको डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए। आत्महत्या गर्न लागेको भन्ने सूचना पाएपछि पर्यटक प्रहरी अल्डिच्युट हेलिकप्टरमा मंगलबार बिहान साढे ५ बजेतिर काठमाडौंबाट उडेको थियो। चिनियाँ नागरिक छेई हुवाङ त्यहाँको ‘थांका इन’ मा बस्दै आएका थिए। बुधबार उनको जन्मदिन समेत हो। उनले चिनियाँ सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गरेका थिए। जसमा उनले तालमा डुबेर मर्न चाहेको भन्दै उल्लेख गरेका थिए। उक्त पोष्ट हालेको थाहा पाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई सम्पर्क गरेको थियो।  पर्यटक प्रहरीलाई सोमबार अपराह्न ५ बजेतिर खबर गरेको थियो। उक्त खबरपछि नेपाल प्रहरीका दुई जना अधिकारी मंगलबार बिहानै गोक्यो ताल क्षेत्रका लागि गएका थिए। ‘उहाँ कुन होटलमा बसेको भन्ने थाहा पाएका थियौं। त्यहाँको होटलका सञ्चालकलाई पनि सम्झाएर राखिराख्नु हिँड्न नदिनु भनेर खबर गर्‍यौं,’ एक प्रहरीले भने। होटलमा सञ्चालकले सम्झाएर राखेपछि प्रहरीको टोली पुगेको थियो। उक्त टोली पुगेर मंगलबार बिहान सम्झाएको थियो। करिब आधा घण्टा सम्झाइसकेपछि भने प्रहरीसँग आउन मानेको थियो।  हेलिकप्टरमा १०: ५३ बजेको समयमा हेलिकप्टर काठमाडौं आइपुगेको हो। अहिले चिनियाँ नागरिकलाई पर्यटक प्रहरी कार्यालयमै राखिएको छ। ‘उहाँलाई रेस्क्यु गरेर ल्याएका छौं। चिनियाँ प्रतिनिधि आउँदै हुनुहुन्छ। केही बेरमा हामी बुझाउँछौं,’ डिएसपी सिंहले भने।

Read More

‘कमेडी दरबार’ मा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई!

दर्शकमाझ लोकप्रिय कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा फिल्म निर्देशक प्रदीप भट्टराईको प्रवेश भएको छ। यसअघि ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिका निर्वाह गरेका प्रदीप ‘कमेडी दरबार’ मा महाराजाको भूमिकामा देखिने भएका हुन्।  मंगलबार शोको छायांकन भइरहेको स्थानबाट प्राप्त तस्बिरमा प्रदीप भट्टराई महाराजाको कुर्सीमा देखिएका छन्। निर्माणपक्षले यसबारे आधिकारिक जानकारी भने दिएको छैन।  कमेडी दरबार स्रोतका अनुसार उनी शोमा नियमित देखिन लागेका भने होइनन्। ‘महाराजा’ को भूमिकामा देखिँदै आएका मनोज गजुरेल युरोप टुरमा निस्किनुपर्ने भएकाले एक महिनाका लागि उनको स्थानमा प्रदीपलाई ल्याइएको कमेडी दरबार स्रोतले जनाएको छ।  शोमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै आएकी छन्। ‘कमेडी दरबार’ लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूको प्रस्तुति रहँदै आएको छ।  अहिले दोस्रो सिजन चलिरहेको शोका अधिकांश एपिसोडले युट्युबमा मिलियन भ्युज पाएका छन्।

Read More

निर्वाचनको माग गर्दै अनेरास्ववियुमा नाराबाजी

नेकपा (एमाले)निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्यार्थीहरूले निर्वाचन प्रकृया अघि बढाइरहेको अवस्थामा एक्कासी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि विद्यार्थीहरू आक्रोसित बनेका छन्। विद्यार्थीहरू आक्रोसित बनेपछि बन्द सत्र सुरु भए पनि निर्वाचन प्रकृया अघि बढेको छैन। निर्वाचन प्रकृयामा अघि बढ्न पाँच जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै पार्टीले कडरिया अध्यक्ष, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिवमा दिपक धामी लगायतको नाम पार्टीको लाइनमा अध्यक्ष मण्डलले घोषणा गरेपछि निर्वाचनको महोल खलबलिएर नाराबाजी सुरु भएको अनेरास्ववियु कीर्तिपुरका इन्चार्ज प्रशान्त भण्डारीले बताए। ‘अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा अरू आकांक्षीले असहमति जनाउँदै हलभित्र ‘वी वान्ट इलेक्सन’ भन्दै नाराबाजी गरिररहेका छन्,’ इन्चार्ज भण्डारीले भने, ‘निर्वाचन प्रकृयामा जाने अध्यक्षको आकांक्षीहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अन्जना शिवाकोटी र कडडियाले आकांक्षा रखेका छन्।’

Read More

ट्रम्प र मस्कबिचको तनाव घट्दै, सम्बन्ध सुधारको संकेत

टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ता सार्वजनिक रूपमा विवाद भएको थियो। तर मस्कले सोमबार सामाजिक सञ्जालमा ट्रम्पको भिडियोमा प्रतिक्रिया जनाएपछि उनीहरूको सम्बन्धमा सुधार भएको संकेत देखिएको छ। ट्रम्पले सोमबार मस्कबारे बोल्दै भनेका थिए, ‘हाम्रो सम्बन्ध राम्रो छ, म उनलाई शुभकामना दिन्छु।’ मस्कले यसको जवाफमा मुटुको इमोजीसहित पोस्ट गरेका छन्। आइतबार लस एन्जलसको आप्रवासनविरोधी दंगामा ट्रम्पको कदमलाई मस्कले समर्थन गरेपछि विवाद कम भएको स्पष्ट संकेत प्राप्त भएको थियो। ‘गभर्नर ग्याभिन न्यूसोम र मेयर बासले लस एन्जलसका जनतासँग गरेको खराब व्यवहार र दंगाको लागि माफी माग्नुपर्छ,’ मस्कले साझा गरेको पोस्टमा ट्रम्पले लेखेका छन्। उनले थपे, ‘यी प्रदर्शनकारी होइनन्, तिनीहरू समस्या निम्त्याउने र विद्रोह गर्नेहरू हुन्।’ मस्कले दंगाबारे उपराष्ट्रपति जेडी भान्सको पोस्ट पनि साझा गरेका थिए। भान्सले लेखेका छन्, ‘यस्तो बेला निर्णायक नेतृत्व चाहिन्छ। राष्ट्रपतिले दंगा र हिंसा सहने छैनन्।’ आइतबार मस्कले सामाजिक सञ्जालमा ट्रम्पसँगको मतभेदको सन्दर्भमा ठट्टा गर्दै लेखेका थिए, ‘ममाथि कति चरित्र हत्या भएको छ, यो निकै अपमानजनक छ, खासगरी मबाट।’ केही दिनअघि ट्रम्प र मस्कबिच एक विधेयक जसलाई ‘बिग एण्ड ब्युटिफुल बिल’ नाम दिइएको छ। बिललाई लिएर विवाद भएको थियो। मस्कको आलोचनाबाट रुष्ट ट्रम्पले मस्कलाई विधेयकबारे जानकारी भएको र विद्युतीय सवारी प्रोत्साहन हटाउँदा कुनै आपत्ति नभएको दाबी गरेका थिए। मस्कले त्यसलाई ‘झूट’ भनेका थिए। त्यसपछि दुवैबिच सामाजिक सञ्जालमा सवाल-जवाफ भएको थियो। ट्रम्पले सरकारी दक्षता विभाग गठन गरी २ खर्ब डलर कटौती गर्न मस्कलाई जिम्मेवारी दिएका थिए। ‘एलन कमजोर थिए, मैले उनको विद्युतीय सवारी नीति हटाएँ, जसले सबैलाई त्यस्ता सवारी किन्न बाध्य बनाउँथ्यो, र उनी रिसाए,’ ट्रम्पले भने। अर्को बयानमा उनले थपे, ‘एलनले मेरो विरुद्ध गएकोमा मलाई आपत्ति छैन। तर उनले पहिल्यै त्यसो गर्नुपर्थ्यो। यो विधेयकले १.६ खर्ब डलर खर्च कटौती गर्छ र ठूलो कर छुट दिन्छ।’ उनले अगाडि भने, ‘यदि यो पारित भएन भने ६८ प्रतिशत कर वृद्धि हुनेछ। मैले यो अव्यवस्था बनाएको होइन, म समाधान गर्न आएको हुँ।’ मस्कले ट्रम्पलाई विवादास्पद व्यक्तिसँग जोडेर आलोचना गरेका थिए। तर पछि उनले त्यो पोस्ट हटाए। मस्कले ट्रम्पलाई ‘कृतघ्न’ भन्दै आफ्नो सहयोगबिना चुनाव नजित्ने दाबी पनि गरेका थिए। उनले ट्रम्पलाई महाअभियोगमार्फत हटाएर भान्सलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका थिए। ट्रम्पले शुक्रबार समाचारमा मस्कसँग कुरा गर्न इच्छुक नभएको र ‘एलनले कुरा बिगारेको’ बताए। उनले मस्कको नयाँ राजनीतिक दल बनाउने सुझावलाई पनि बेवास्ता गर्ने जनाए। एजेन्सी

Read More
Back To Top