अनलाइनबाट तीन अर्बको जुवा: १० भारतीय, १४ नेपाली पक्राउ

अवैध ‘बेटिङ एप’बाट तीन अर्ब बढीको जुवा खेलाउन १० जना भारतीय र १४ नेपालीसहित २४ जना प्रहरीको फन्दामा परेका छन्। शनिवार ललितपुरमा दुई घरमा छापा मारेर प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ललितपुर आधार बनाएर अनलाइन जुवा हुने गरेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसरको टोलीले शनिवार अपरेसन चलाएको थियो। अपरेसनका क्रममा ललितपुर महानगरपालिका–२ सानेपामा २ घर भाडामा लिएर व्यावसायिक रूपमै अनलाइन जुवा खेल्ने र खेलाउने काम भइरहेको प्रहरीले भेट्टाएको छ। विश्वभर सञ्चालन हुने ८ भन्दा बढी अनलाइन खेल(बेटिङ एप)बाट अनलाइन जुवा हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। नेपालमा आधार बनाएर जुवा खेलाए पनि जुवाडे एजेन्टमार्फत भारतीय बैंकमा खाता खेलेर त्यहाँकै खातामार्फत कारोबार हुने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका अनलाइन जुवाडेहरू १९ वर्ष देखि ४४ वर्षसम्मका छन्। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सुल्तापुर बरौलीका २२ वर्षीय अजित कुमार, उत्तराखण्ड उदमसिंह देवनगरका २४ वर्षीय मुकेश मण्डल, मध्य प्रदेश भूपाल लालगरीका ४४ वर्षीय मनोजकुमार बजाज, मध्य प्रदेश भूपाल यशबागका २८ वर्षीय सुमित खत्री, बिहार प्रदेश सिवान मेखपुरका ३४ वर्षीय प्रबातकुमार साह, मध्य प्रदेश भोपाल सिरीका ३२ वर्षीय ओमप्रकाश खत्री, उत्तर प्रदेश बेबरिया रामपुर थानाका २८ वर्षीय रविप्रकाश विश्वकर्मा,  सोही ठाउँमा २३ वर्षीय रवि अभिषेक ओझा, उत्तर प्रदेश बेबरिया बनकटाका २२ वर्षीय शिवम पाण्डेय र उत्तर प्रदेश बलियाका २५ वर्षीय मनोज कुमार छन्। यस्तै नेपाली नागरिकमा प्युठान नगरपालिका–६ दाखाक्वाडीका ३६ वर्षीय टंकबहादुर पछाई, डोटीको पूर्वीचौकी गाउँपालिका–५ का २५ वर्षीय तेज बोगटी, प्युठानको प्युठान नगरपालिका–२ का २३ वर्षीय लक्ष्मण विष्ट, सोही ठाउँका २५ वर्षीय अविनाश जिसी, ३४ वर्षीय हरिबहादुर जिसी, २२ वर्षीय समीर खड्का, २४ वर्षीय विक्रम पछाई, २८ वर्षीय अशोक जिसी, ३४ वर्षीय गोपाल विष्ट, सुजन जिसी, १९ वर्षीय रवि विष्ट,  सुर्खेत गुर्भाकोट नगरपालिका–१२ दहचोकका २४ वर्षीय भीष्म वली, गुर्भाकोट–१२ क्वाडीका ३२ वर्षीय हेमन्त लोहनी गौतम, दार्चुला ब्यास गाउँपालिका–२का २० वर्षीय हेमन्त धामी छन्। पक्राउ परेको समूहले कुल तीन अर्ब चार करोड७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरूबाट ५७ थान विभिन्न कम्पनीका मोबाइल, १३ थान ल्यापटप, ३४ थान विभिन्न कम्पनीका एटिएम कार्ड, ८८ थान सिम कार्ड, १२ थान चेक बुक, ८ थान भारतीय आधार कार्ड, ६ थान राहदानी बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहितका, २०७४ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय(नियमित गर्ने) ऐन, २०१८ बमोजिमको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top