आवश्यक कागजपत्र नभएका आप्रवासी खोज्न छापा मार्ने क्रममा अशान्ति फैलिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लस एन्जलसमा २,००० न्याशनल गार्डहरू तैनाथ गर्ने निर्णय गरेका छन्। ट्रम्पका सीमा मामिला हेर्ने अधिकारी (बोर्डर जार) टम होमनले शनिवार फक्स न्यूजसँग भने, “हामी लस एन्जलसलाई सुरक्षित बनाउँछौँ।” सङ्घीय निकाय इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) का एजेन्टहरूसँग विशेषगरी ल्याटिन अमेरिकी आप्रवासीहरू रहेको बस्तीका मानिसहरूले झडप गरेपछि क्यालिफोर्नियास्थित उक्त सहर शनिवार दोस्रो दिन पनि तनावपूर्ण र अशान्त देखियो। प्यारामाउन्ट जिल्लामा भिडलाई तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरिएको थियो। आईसीईले गरिरहेको कारबाहीका क्रममा एक सातामा लसएन्जलसमा ११८ जनालाई पक्राउ गरिएको छ। त्यसमध्ये शुक्रवार मात्र ४४ जना पक्राउ परेका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले छापा मार्ने कार्यलाई “क्रूर” भन्दै निन्दा गरेका छन्। प्यारामाउन्ट अहिले धेरै हदसम्म शान्त भएको छ तर प्रदर्शनकारीहरू र कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीबीच अझै झडपहरू भइरहेका छन्। त्यहाँको एउटा चर्चित निर्माण सामग्री बिक्री गर्ने चेन स्टोर बाहिर अश्रुग्यास र धुवाँले मुस्लो देखिएको छ। त्यस क्षेत्रमा पहिलो पटक विरोध प्रदर्शन सुरु भएको थियो। उक्त नगरका काउन्टी शेरिफहरूले प्रदर्शनकारीहरूलाई हटाउन प्रयास गर्दा प्रत्येक केही मिनेटमा फ्ल्याश ब्याङ्ग र अश्रुग्यास प्रहार गरिरहेका छन्। छिमेकीहरू र प्रदर्शनकारीहरूका अनुसार कैयौँ आप्रवासीहरूले आफ्नै पसलभित्र आफूहरूलाई बन्द गरेर राखेका छन् र बाहिर निस्कन डराइरहेका छन्।
