दर्शकमाझ लोकप्रिय कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा फिल्म निर्देशक प्रदीप भट्टराईको प्रवेश भएको छ। यसअघि ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिका निर्वाह गरेका प्रदीप ‘कमेडी दरबार’ मा महाराजाको भूमिकामा देखिने भएका हुन्। मंगलबार शोको छायांकन भइरहेको स्थानबाट प्राप्त तस्बिरमा प्रदीप भट्टराई महाराजाको कुर्सीमा देखिएका छन्। निर्माणपक्षले यसबारे आधिकारिक जानकारी भने दिएको छैन। कमेडी दरबार स्रोतका अनुसार उनी शोमा नियमित देखिन लागेका भने होइनन्। ‘महाराजा’ को भूमिकामा देखिँदै आएका मनोज गजुरेल युरोप टुरमा निस्किनुपर्ने भएकाले एक महिनाका लागि उनको स्थानमा प्रदीपलाई ल्याइएको कमेडी दरबार स्रोतले जनाएको छ। शोमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै आएकी छन्। ‘कमेडी दरबार’ लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूको प्रस्तुति रहँदै आएको छ। अहिले दोस्रो सिजन चलिरहेको शोका अधिकांश एपिसोडले युट्युबमा मिलियन भ्युज पाएका छन्।
