काठमाडौंको चन्द्रागिरिमा छतबाट खसेर एक जना पुरूषको मृत्यु भएको छ। आइतबार बिहान पौने ९ बजे चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित साढे दुई तले घरमाथिबाट एक जना पुरूषको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए। छतमा घाम ताप्नेक्रममा दोलखा शैलुङ गाउँपालिका-३ घर भएका ५२ वर्षीय होमबहादुर श्रेष्ठ रेलिङमा अल्झिएर दुई तला माथिबाट खसेका हुन्। घाइते भएका उनको उपचारका लागि सतुङगलस्थित अस्पतालमा ल्याइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको एसपी बोहोराले बताए। प्रहरी वृत्त थानकोटले घटना सम्बन्धि थप अनुसन्धान अघि बढाएको छ।
