प्युठानको गौमुखी गाउँपालिका – ५ का ६८ वर्षीय चिन्तामणि उपाध्यायको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौमुखी– ५ खुङ्गका ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु न्यौपाने छिन्। पक्राउ परेकाहरू नातामा ज्वाँइ(सासु हुन्। लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन्। चिन्तामणिको शव माघ १८ गते बिहान ९ बजे फुर्सेधारास्थित खुङ्ग(नारिकोट जोड्ने कच्ची सडकमा फेला परेको थियो। प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार चिन्तामणिको टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट थियो। हत्या अघिल्लो दिन ८ बजेतिरै भएको अनुसन्धानपछि पत्ता लागेको थियो। हत्याको कारण त्रिकोणात्मक अवैध प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बिहीबार बेलुकी जेदुले नै चिन्तामणिलाई फोन गरेर फुर्सेधारा बोलाएकी थिइन्। तर फुर्सेधारामा जेदु एक्लै थिइनन्। साथमा उनकै ज्वाँइ लोकबहादुर थिए। जेदू लोकबहादुरसँग प्रेम सम्बन्धमा थिए, त्यसअघि चिन्तमणिसँग पनि उनको प्रेम थियो। जेदुका श्रीमान रोजगारका सिलसिलामा केही वर्षयता भारतमा छन्। छोराछोरी सबैको विवाह भइसकेको छ भने घरमा जेदु एक्लै बस्दै आइरहेकी थिइन्। त्यस क्रममा चिन्तामणिसँग उनी नजिकिएकी थिइन्। चिन्तामणिसँग प्रेममा हुँदा जेदूको सम्बन्ध आफ्नै ज्वाँइ लोकबहादुरसँग पनि थियो। त्यसबारेमा चिन्तामणि पनि जानकार थिए। एक वर्षअघिदेखि भने चिन्तामणि र जेदूबीच त्यति राम्रो सम्बन्ध थिएन। प्रहरीको अनुसन्धानअनुसार एक वर्षअघि चिन्तामणिले जेदुलाई उनकै घरभित्र लोकबहादुरसँग फेला पारेका थिए। त्यसपछि बाहिरबाट चुकुल लगाइदिएर गाउँलेलाई खबर गरिदिएका थिए। त्यसो हुँदा गाउँभरि उनीहरू दुईबीचको अवैध सम्बन्धको कुरा फैलिएको थियो। त्यतिबेलादेखि जेदु र लोकबहादुर चिन्तामणिका कारण आफूहरुको गाउँभरि बेइज्जत भएको भन्दै बदला लिने योजना बनाइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यतिबेलादेखि खासै राम्रो सम्बन्ध नभएकी जेदूले ९माघ १७ गते बिहीबार भेट्न बोलाएपछि चिन्तामणि फुर्सेधारा पुगेका थिए। उनलाई फुर्सेधारा बोलाउने योजना लोकबहादुरको थियो। चिन्तामणिलाई फोन गर्दा लोकबहादुर जेदुसँगै थिए। फुर्सेधारा चिन्तामणिको घरबाट करिब डेढ किलोमिटर दक्षिण पर्छ। एक वर्षदेखि बिग्रिएको सम्बन्ध सुधार गर्ने अभिलाषा लिएर उनी जेदूलाई भेट्न गएका थिए। फुर्सेधारा पुगेपछि उनले जेदूसँगै लोकबहादुरलाई पनि देखे। लोकबहादुरले वर्षदिन अगाडिको घटना निकालेर निहुँ खोजे। चिन्तामणिले सुरूवातमा जबाफ दिएनन्, टार्न खोजे। तर लगातार आफूमाथि आरोप लगाउन थालेपछि रिसले चुरिएका चिन्तामणि लोकबहादुरतिर झम्टन्छन्। त्यति नै बेला लोकबहादुरले भरूवा बन्दुकको कुन्दाले चिन्तमणिको मुखमा प्रहार गरे। कुन्दा प्रहारबाट चिन्तमणि ढले। डिएसपी बस्यालका अनुसार कुन्दा प्रहारबाट चिन्तामणिको दाँत गिँजासहित झरेको थियो। ढलेर छटपटाउन थालेपछि लोकबहादुरले ढुंगाले टाउको र अनुहारमा प्रहार गरे। जेदूले पनि चिन्तामणिको टाउको र अनुहारमा ढुंगा प्रहार गरिन्। चिन्तामणि मरेको निश्चित भएपछि उनको गोजीमा रहेको सात हजार रूपैयाँ जेदूले लिइन् । मोबाइल लोकबहादुरले लिए र जंगलतिर भागे। चिन्तामणिको हत्यापछि जेदु केही थाहा नभएजसरी घरमै बसेकी थिइन्। लोकबहादुर दिनभर जंगलमा बस्ने र राति मात्रै घर आउने गर्थे। घटना अनुसन्धानमा डिएसपी बस्याल र प्रहरी निरीक्षक केशव केसी आँफै खटिएका थिए। घटनास्थल धुलाम्मे थियो । त्यहाँ दुई थरी फूटपिन्टहरु भेटिन्छन् । एउटा चप्पलको डोबहरु चिन्तामणिको थियो । जस्ले किचेनमा लगाउने न्यानो खाले चप्पल लगाइ गएका थिए । अर्को चप्पलका डोबहरु अनुसन्धान गर्दै जाँदा जेदुको रहेको खुलेपछि प्रहरीले उनलाई शनिबार नियन्त्रणा लिएको थियो। प्रहरीले सोधपुछ गर्दा उनी ५र६ घन्टासम्म नबोली बसेकी थिइन्। जेदूसँग लोकबहादुरको सम्बन्ध रहेको विषय प्रहरीले गाउँलेबाट थाहा पाएको थियो। त्यसअनुसार जेदुलाई नसोधी प्रहरीले उनको खोजी गरेको थियो। लोकबहादुर दिनभर जंगल बस्ने र राति मात्रै घरमा आउने सूचना पनि प्रहरीले पाएको थियो। यही बीचमा शनिबार राति लोकबहादुरले आफ्नो मोबाइल स्वीच अन गर्छन्। त्यसबाट प्रहरीलाई उनको लोकेसन ट्र्याक गरी शनिबार राति पक्राउ गरेको हो। लोकबहादुरलाई आइतबार बिहान ३ बजे प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याएको प्रहरी प्रवक्ता केशव केसीले जानकारी दिए। डिएसपी दिपेश बस्यालका अनुसार लोकबहादुरले चिन्तामणिको हत्यापछि साथमै लागेको उनको मोबाइल जंगलमा फोडेर फालेका थिए। फोडेर ओडारमा लुकाएको अवस्थामा चिन्तामणिको मोबाइल पनि फेला परेको छ । लोकबहादुरले भरुवा बन्दुक कहाँ लुकाएर राखेका छन् भन्नेबारे सोधपुछ भइरहेको पनि डिएसपी बस्यालले बताए।लोकबहादुर र जेदु दुवैले हत्या गरेको स्वीकार गरिसकेका छन्। उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
