ट्रम्प र मस्कबिचको तनाव घट्दै, सम्बन्ध सुधारको संकेत

टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ता सार्वजनिक रूपमा विवाद भएको थियो। तर मस्कले सोमबार सामाजिक सञ्जालमा ट्रम्पको भिडियोमा प्रतिक्रिया जनाएपछि उनीहरूको सम्बन्धमा सुधार भएको संकेत देखिएको छ।

ट्रम्पले सोमबार मस्कबारे बोल्दै भनेका थिए, ‘हाम्रो सम्बन्ध राम्रो छ, म उनलाई शुभकामना दिन्छु।’ मस्कले यसको जवाफमा मुटुको इमोजीसहित पोस्ट गरेका छन्। आइतबार लस एन्जलसको आप्रवासनविरोधी दंगामा ट्रम्पको कदमलाई मस्कले समर्थन गरेपछि विवाद कम भएको स्पष्ट संकेत प्राप्त भएको थियो।

‘गभर्नर ग्याभिन न्यूसोम र मेयर बासले लस एन्जलसका जनतासँग गरेको खराब व्यवहार र दंगाको लागि माफी माग्नुपर्छ,’ मस्कले साझा गरेको पोस्टमा ट्रम्पले लेखेका छन्। उनले थपे, ‘यी प्रदर्शनकारी होइनन्, तिनीहरू समस्या निम्त्याउने र विद्रोह गर्नेहरू हुन्।’

मस्कले दंगाबारे उपराष्ट्रपति जेडी भान्सको पोस्ट पनि साझा गरेका थिए। भान्सले लेखेका छन्, ‘यस्तो बेला निर्णायक नेतृत्व चाहिन्छ। राष्ट्रपतिले दंगा र हिंसा सहने छैनन्।’ आइतबार मस्कले सामाजिक सञ्जालमा ट्रम्पसँगको मतभेदको सन्दर्भमा ठट्टा गर्दै लेखेका थिए, ‘ममाथि कति चरित्र हत्या भएको छ, यो निकै अपमानजनक छ, खासगरी मबाट।’

केही दिनअघि ट्रम्प र मस्कबिच एक विधेयक जसलाई ‘बिग एण्ड ब्युटिफुल बिल’ नाम दिइएको छ। बिललाई लिएर विवाद भएको थियो। मस्कको आलोचनाबाट रुष्ट ट्रम्पले मस्कलाई विधेयकबारे जानकारी भएको र विद्युतीय सवारी प्रोत्साहन हटाउँदा कुनै आपत्ति नभएको दाबी गरेका थिए। मस्कले त्यसलाई ‘झूट’ भनेका थिए। त्यसपछि दुवैबिच सामाजिक सञ्जालमा सवाल-जवाफ भएको थियो।

ट्रम्पले सरकारी दक्षता विभाग गठन गरी २ खर्ब डलर कटौती गर्न मस्कलाई जिम्मेवारी दिएका थिए। ‘एलन कमजोर थिए, मैले उनको विद्युतीय सवारी नीति

हटाएँ, जसले सबैलाई त्यस्ता सवारी किन्न बाध्य बनाउँथ्यो, र उनी रिसाए,’ ट्रम्पले भने। अर्को बयानमा उनले थपे, ‘एलनले मेरो विरुद्ध गएकोमा मलाई आपत्ति छैन। तर उनले पहिल्यै त्यसो गर्नुपर्थ्यो। यो विधेयकले १.६ खर्ब डलर खर्च कटौती गर्छ र ठूलो कर छुट दिन्छ।’ उनले अगाडि भने, ‘यदि यो पारित भएन भने ६८ प्रतिशत कर वृद्धि हुनेछ। मैले यो अव्यवस्था बनाएको होइन, म समाधान गर्न आएको हुँ।’

मस्कले ट्रम्पलाई विवादास्पद व्यक्तिसँग जोडेर आलोचना गरेका थिए। तर पछि उनले त्यो पोस्ट हटाए। मस्कले ट्रम्पलाई ‘कृतघ्न’ भन्दै आफ्नो सहयोगबिना चुनाव नजित्ने दाबी पनि गरेका थिए। उनले ट्रम्पलाई महाअभियोगमार्फत हटाएर भान्सलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका थिए। ट्रम्पले शुक्रबार समाचारमा मस्कसँग कुरा गर्न इच्छुक नभएको र ‘एलनले कुरा बिगारेको’ बताए। उनले मस्कको नयाँ राजनीतिक दल बनाउने सुझावलाई पनि बेवास्ता गर्ने जनाए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top