रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा भीषण ड्रोन र बम आक्रमण गरेको छ। जसमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी युक्रेनको खेरसनमा भएको अर्को आक्रमणमा पनि दुई जनाको मृत्यु भएको छ। खार्किभका मेयर इहोर तेरेखोभले शुक्रबार राति आफ्नो सहरमा ४८ वटा ड्रोन, दुईवटा मिसाइल र चारवटा ग्लाइड बम प्रयोग गरिएको र शनिबार थप ग्लाइड बम खसालिएको बताएका छन्। यसअघि, मस्कोले गत सप्ताहन्तमा रुसी रेलवे पूर्वाधार र हवाई अखडाहरूमा भएको आक्रमणको जवाफमा बिहीबार राति युक्रेनभरि ठूलो संख्यामा ड्रोन र मिसाइल आक्रमण गरिएको बताएको थियो। खार्किभमा शुक्रबार राति भएको आक्रमणमा १८ वटा अपार्टमेन्ट भवन र १३ अन्य घरमा क्षति पुगेको मेयर तेरेखोभले जानकारी दिए। घाइतेहरूमा एक शिशु र एक १४ वर्षीया किशोरी पनि रहेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभमाथिको आक्रमणको ‘कुनै सैन्य औचित्य नभएको’ र यो ‘शुद्ध आतंकवाद’ भएको बताएका छन्। उनले रुसी समकक्षी भ्लादिमिर पुटिनमाथि युद्ध लम्ब्याउन समय किन्न खोजेको आरोप लगाउँदै आक्रमण रोक्न ‘दबाब सिर्जना गर्नुपर्ने’ बताए। युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले रुसको पछिल्लो आक्रमणको जवाफमा मस्कोमाथि थप दबाब बढाउन र ‘युक्रेनलाई बलियो बनाउन थप कदम चाल्न’ सहयोगी राष्ट्रहरूलाई आग्रह गरेका छन्। यसैबीच, रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा विवाद उत्पन्न भएको छ। इस्तानबुलमा भएको वार्तामा दुवै पक्ष बिरामी, गम्भीर घाइते र २५ वर्ष मुनिका युद्धबन्दीहरू आदानप्रदान गर्न सहमत भएका थिए। मस्कोका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले युक्रेनले ‘अप्रत्याशित रूपमा युद्धबन्दी आदानप्रदान अनिश्चितकालका लागि स्थगित गरेको’ आरोप लगाएका छन्। यता, युक्रेनी अधिकारीहरूले भने रुसको आरोपको खण्डन गर्दै ‘फोहोरी खेल खेल्न बन्द गर्न’ आग्रह गरेका छन्। युक्रेनको युद्धबन्दी समन्वय कार्यालयले रुसको टिप्पणी ‘वास्तविकता र अघिल्ला सम्झौताहरूसँग मेल नखाने’ बताएको छ। युक्रेनले रुसले सम्झौताका मापदण्डहरू पालना नगरेको र सहमतिविपरीत वैकल्पिक सूची पेस गरेको आरोप लगाएको छ।
