नेकपा (एमाले) नुवाकोट विदुर नगरपालिका कमिटीमा सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्। बुधबार भएको चुनावमा उनी १५८ मतले निर्वाचित भएको निर्वाचन कमिटीले जानकारी दिएको छ। उनले अनुजकुमार श्रेष्ठलाई पराजित गरे। अनुजले १०६ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा श्यामकृष्ण चालिसे निर्वाचित भएका छन्। उनले १७३ मत प्राप्त गरे भने प्रतिस्पर्धी देवनारायण चित्रकारले ९० मत ल्याए। सचिवमा तोयानाथ तिम्सिना निर्वाचित भएका छन्। उनले १४८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी उपेन्द्र रिमालले १०८ मत प्राप्त गरे। खुला उपसचिवमा पूर्णबहादुर कार्की निर्वाचित भए। कार्कीले १३३ मत ल्याउँदा प्रतिस्पर्धी डिल्लीप्रसाद गजुरेलले ११८ मत ल्याए। महिला उपचसचिवमा करिना नेपाल निर्वाचित भइन्। उनले १३७ मत ल्याइन् भने प्रत्यासी मुना पुडासैनी न्यौपानेले १०८ मत ल्याइन्। लेखा कमिटी अध्यक्ष रामशरण तिम्सिना १२९ मतसहित निर्वाचित हुँदा रामकृष्ण खड्का ११८ मत ल्याएर पराजित भए। मंगलबारबाट सुरू भएको अधिवेशनको उद्घाटन एमाले बागमती इन्चार्ज राजन भट्टराईले गरेका थिए। अधिवेशनमा पार्टी संस्थापन पक्ष पराजित भएको त्यहाँको कमिटीले जानकारी दिएको छ। अहिले नगर कमिटी अध्यक्ष निर्वाचित भएका सञ्जीव श्रेष्ठ एमालेले ६ महिना जिम्मेवारीमुक्त गरेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेना पूर्वजिल्ला अध्यक्ष नारायण खतिवडानिकट हुन्। अनुजलाई जिल्ला कमिटी अध्यक्ष बद्रि मैनाली, केन्द्रीय सदस्य केशव पाण्डे र विन्दा ढुंगानाले समर्थन गरेका थिए। मैनाली, पाण्डे र ढुंगाना केन्द्रमा उपमहासचिव विष्णु रिमाल र अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्।
