सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक

सरकारसँग वार्ता भएपछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ। महासंघले आज दिउँसो ३ः१५ बजेका लागि बैठक बोलाएको हो। बैठक रत्नराज्य मावि बानेश्वरमा बस्ने बताइएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ। यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासङ्घका पदाधिकारीबीच शिक्षक आन्दोलन र समस्याको समाधानका विषयमा बालुवाटारमा छलफल भएको थियो। विद्यालय शिक्षा विधेयक, २०८१ तुरुन्त पारित गर्नुपर्ने मागसहित महासङ्घको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले जायज मागबारे गृहकार्य गरी वार्ताबाट समाधान खोज्न चैत २५ मा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईलाई निर्देशन दिएका थिए। वैशाख २ को मन्त्रिपरिषद् बैठकले विधेयक पारित गर्न वैशाख १२ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। सरकारले महासङ्घका मागप्रति संवेदनशील रहँदै संवाद जारी राखेको र विद्यालय भर्ना, एसइइ उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यानमा राखी आन्दोलन फिर्ता गरेर विद्यालय फर्कन शिक्षकलाई आग्रह गरेको छ। बालुवाटारमा भएको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top